जाँचबुझ आयोगको निष्कर्षः बालकुमारी घटनाको मुख्य दोषी भौतिकमन्त्री ज्वाला
गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुईजना युवाको ज्यान गएको घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका कारण हुन पुगेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ।
बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा उक्त निष्कर्ष निकालेको हो।
उक्त आयोगका एकजना सदस्यका अनुसार बालकुमारी क्षेत्रमा युवाहरूको प्रदर्शन भइरहेका बेला भौतिकमन्त्री सरकारी गाडीमा सवार भएर गएकै कारण दुईजना युवकको ज्यान जाने गरी घटना हुन पुगेको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ।
बालकुमारीस्थित ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो।
ती सदस्यका अनुसार उक्त घटनाका बेला बालकुमारीमा फिल्ड कमान्डरका रुपमा तैनाथ नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ प्रहरी नायव निरीक्षक ९सई० बोधराज दनुवारको पनि मुख्य कमजोरी देखिएको छ।
उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्ने गरी नेपाल सरकार ९मन्त्रिपरिषद्०ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।
उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भटाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।
आयोगका अध्यक्ष पौडेलका अनुसार घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्यसमेत गरी २९ जनाको बयान गरिएको थियो।
घटनालगत्तै गृह मन्त्रालयले बालकुमारी घटनामा संयमता नराखेको भन्दै सातदोबाटो वृत्तका प्रमुख डीएसपी लम्साल र मन्त्री ज्वालाका पीएसओ दनुवारलाई निलम्बन गरेको थियो।






