पनौती–११ बल्थली नगरपालिकाकै पहिलो बालश्रममुक्त वडा घोषणा
पनौती नगरपालिका वडा नम्बर ११ बालश्रममुक्त वडा घोषणा भएको छ । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गिता बञ्जारा, वडा अध्यक्ष विपिन लामा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, बालमैत्री संपक व्यक्ति केशब बञ्जारा, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला लायत स्थानीयको भव्य उपस्थितीमा बालश्रममुक्त वडा घोषणा गरिएको हो ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी भएको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ एवं पनौती नगरपालिकाबाट जारी भएको बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधि २०८० बमोजीमको प्रकृया पुरा गरेसँगै बालश्रममुक्त वडा घोषणा गरिएको पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले बताए ।
उप–प्रमुख गिता बञ्जाराले निरन्तरको प्रयासले सार्थकता प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेकी छन् । उनले दिगोपनाका लागि लाग्न सबैमा आग्रह गर्दै आफु प्रतिवद्ध रहेको बताएकी थिइन् । यस्तै वडा अध्यक्ष विपिन लामाले भविष्यका कर्णधार बालबालिकालाई श्रममा लगाउन हुँदैन भन्नेमा सबै सचेत हुनुपर्नेमा जोड दिए । बालमैत्री सहजकर्ता कोकीला गिरीले निरन्तरताका लागि थप कार्यक्रम सुरु गर्ने भन्दै अभियान निरन्तर अघि बढ्ने बताएकी छन् ।






