काभ्रेका महिला उद्यमीसँग वुमन एक्टको सहकार्य

by | फाल्गुन ८, २०८०

काभ्रेका महिला उद्यमीसँग वुमन एक्टको सहकार्य

गोमा थापा
बनेपा
   नेपालका सीमान्तकृत र जोखिममा परेका महिला तथा बालबालिकाहरुको आर्थिक सवलीकरण परियोजना संचालन गर्दै आएको वुमन एक्टले काभ्रेका महिला उद्यमीसँग सहकार्य गर्ने भएको छ ।
वुमन एक्टले काभ्रेको पनौती, बनेपा  र पाँचखाल नगरपालिकाका महिला उद्यमीहरुसँग तीन वर्षसम्मको लागि सहकार्य गर्ने भएको हो । उक्त परियोजनाले जिल्लाको तीन स्थानीय तहका कृषि उत्पादन , सिलाई बुनाई, खाद्यान्न परिकार र हस्तकला लगायत चारवटा क्षेत्रमा काम गर्छ । 
बनेपामा पहिलो चरणमा सोमबार फिल्ड स्तरीय स्थानीय प्रतिनिधिहरु तथा परियोजना लक्षित वर्गहरुको भेटघाट गरेको छ । जिल्लाका तीन स्थानीय तहका उद्यमी महिलाको उत्पादन र उनीहरुको अवस्था बुझ्न उक्त भेटघाट कार्यक्रम राखिएको हो । महिलाहरुका व्यवसायलाई प्रबर्धन गर्ने, उनीहरुलाई संगठिन गर्ने, उद्यमशीलता विकासको लागि एकजुट बनाई स्थानीय निकायसँग  जोड्ने र उनीहरुको अवस्था कस्तो छ भनेर बुझ्नको लागि भेटघाट कार्यक्रम गरिएको वुमन याक्ट्का टिम लिडर प्रकाश अधिकारीले बताए । वुमन एक्टले महिला उद्यमीहरूको लागि वृद्धि र निरन्तर नवप्रवर्तनलाई अगाडि बढाउन मद्दत गर्न सक्ने वित्तीय साक्षरता, बजार सम्बन्धि जानकारी र नेतृत्व अवसरहरू सहज बनाउन मद्दत गर्ने लक्ष्य राखेको छ । 
कार्यक्रमले महिलामा भएको सीपको विकाससँगै स्थानीय स्तरको कच्चा पदार्थको प्रयोग गरेर आर्थिक रुपमा सवलीकरण गर्न सहयोग गर्ने बताउँदै टिम लिडर अधिकारी भन्छन् महिलालाई डिजिटल कर्मेसियल प्लेटफर्म सिकाइ विश्वव्यापी बजारमा पहूँच जोड्नको छौं । हामी यो परियोजना मार्फत उद्यमलाई प्रविधिसँग जोड्न सिपमूलक तालिम, अभिमुखीकरण अन्तरक्रिया र डिजिटलाइजेसन  पेमेन्टको बारेमा महिलालाई जानकारी दिने वुमन एक्टका टिम लिडर अधिकारी  बताउँछन् ।  
 
लक्षित वर्गहरुको भेटघाटमा आएका उद्यमी महिलाले उत्पादन गरेका वस्तुहरुको प्रर्दशनी समेत गरेका थिए । काभ्रे महिला उद्यमी मञ्चका अध्यक्ष रामेश्वरी मानन्धर वुमन एक्टको सहकार्य गरेर उद्यमी महिलालाई डिजिटल प्रणालीमा जोड्न पाउँदा निकै खुसी देखिन्छिन् । 
बनेपा २ कि गिता दुलाल ढक्की बुन्ने, चियाकप, गमला लगायत सजावटको समाग्री बनाउने गर्छिन् । आर्कषक सामाग्री तयार पारेपनि बजारिकरणको समस्या भोग्दै आएकी छिन् । अनलाई सपिङ हुन्छ भन्ने मात्रै सुनेकी उनले डिजिटल प्रविधिको ज्ञान लिन पाउने कुराले निकै हौसिएकी छिन् । 

उक्त परियोजना अन्तर्गत १० हजार महिलालाई उद्यमसँग जोड्ने परियोजनाको लक्ष्य छ । कमुनिटि अफ प्राक्टिस भन्ने नामकरण गरिएको सोसल नेटवर्क समुह बनाएर महिलाले आफ्नो उत्पादन र समस्या राख्ने थलो परियोलना संचालन गरेको छ । उनीहरूलाई डिजिटल बिक्री र वित्तीय साक्षरता तालिमका साथसाथै व्यापार मोडल परिमार्जन मार्फत इ–कमर्स र अनलाइन लेनदेनको बारेमा परिचित गराइनेछ । सरकारी अनुदानमा सञ्चालित कार्यक्रमहरू, नीतिहरू, लघुवित्त र योजनाहरूको परिचय पनि प्रदान गरिनेछ । साथै, उनीहरूलाई अभ्यास नेटवर्कको समुदाय विकास गर्न र ज्ञान र उत्कृष्ट अभ्यासहरू, उपकरणहरू, चुनौतीहरू, र नवीन उत्पादनहरू एकअर्कासँग प्रभावकारी रूपमा साझेदारी गर्न परिचालन गर्न मद्दत गरिनेछ। परम्परागत शैलीका उत्पादन खोजि गर्दै संरक्षण गर्ने र त्यसलाई स्तरीकरण गरेर बजारीकरण परियोजनाले गर्ने भएको छ ।