मोहनबहादुर बस्नेत र प्रकाश ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्न एमालेको माग

by | फाल्गुन १०, २०८०

मोहनबहादुर बस्नेत र प्रकाश ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्न एमालेको माग

नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरु मोहनबहादुर बस्नेत र प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।

बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले सञ्चारसम्बन्धी उपकरण टेरामक्स खरिद काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र अन्य विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।

हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सञ्चार मन्त्री हुँदा गरेको निर्णयको आधारमा टेरामक्स खरिद प्रकरणमा जोडिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ माघमा मन्त्री बस्नेतसँग टेरामक्स खरिद प्रकरणका विषयमा बयान लिएको थियो ।

त्यस्तै कोरियाली भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना जाँचबुझका लागि गठित आयोगले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ ।

एमालेले निर्णयमा नै यी दुई विवाद उल्लेख गरेर मन्त्री बस्नेत र ज्वालाको राजीनामा माग गरेको हो ।