धुलिखेल उर्जा प्रभावकारीता भवन संहिता जारी गर्ने दोश्रो पालिका घोषणा

काठमाडौ÷७ सय ५३ वटा स्थानीय सरकार मध्ये धुलिखेल नगरपालिका उर्जा प्रभावकारीता भवन संहिता २०८० जारी गर्ने दोश्रो पालिका घोषणा भएको छ । यस अघि पोखरा महानगरपालिकाले भवनमा उर्जा प्रभावकारीता कायम गर्ने सम्वन्धी मापदण्ड जारी गरेको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोगमा संचालन भईरहेको विन परियोजनाले राजधानीमा आयोजना गरेको कार्यक्रममा धुलिखेल नगरपालिकाको भवनमा उर्जा प्रभावकारीता कायम गर्ने सम्वन्धी मापदण्ड २०८० जारी गरिएको घोषणा गरिएको थियो । उक्त मापदण्ड धुलिखेल नगरपालिकाको नगर सभाले पास गरिसकिको छ ।

संघीय मामिला मन्त्रालयका निमत्ति सचिव कमलप्रसाद भट्टराईले भवनहरुमा परिचालन उर्जा खपतको आधारभुत अध्ययन प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रममा भवनहरुमा परिचालन उर्जा खपतको आधारभुत प्रतिवेदनमा भएका विषय र त्यसका सारवस्तुका बारेमा परियोजनाका सुरेश प्रजापतिले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आर्किटेक्ट र डिजाईजनरहरुको लागि उर्जा दक्ष भवन डिजाईनको लागि आवश्यक सामाग्री र धुलिखेल नगरपालिकाको भवन निर्माणमा दक्षताका लागि विनियमावली २०८० सार्वजनिक गरिएको थियो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, कार्यक्रम संयोजक डा.डेनिल नेयर, प्राविधिक संयोजक सास्वती चेतिया, इन्जिनियर प्रकिमा तुलाधर, धुलिखेल नगरपालिका इन्जिनियर रोजन ताम्राकार लगायतले उर्जालाई भवनमा प्राथमिकता राख्दै कार्य गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेलले जारी गरेको उर्जा प्रभावकारीता कायम गर्ने मापदण्डलाई ब्यवहारमा कार्यान्वन शुरु भएको बताए ।

धुलिखेलले दिगो विकास लक्ष्यका सुचकहरु पुरा गर्दै उर्जाको प्रयोगमा भवनहरुको निर्माण र धुलिखेल नगरपालिकाका भवनमा उर्जाको प्रभावकारीता बढाउन आवश्यक प्रकृया शुरु भएको बताए । धुलिखेल नेपालमै पहिलो स्वस्थ शहर शुरु गर्ने पालिकाका रुपमा चिनिएको छ ।