पाँंचखालमा १८ देशका ११ सय ६२ सैनिकले गर्दैछन अभ्यास शान्ति प्रयास
मोतीराम तिमल्सिना
पाँचखाल
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँंचखालमा अभ्यास शान्ति प्रयास ४ चलिरको छ । फाल्गुन ८ गतेबाट शुरु भएको अभ्यास फागुन २१ गते सम्म चल्नेछ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँंचखालका केन्द्रपति तथा महासेनानी संजित श्रेष्ठ सिन्वाले संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पीस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहाकार्यमा अभ्यास ४ संचालन भईरहेको बताए ।
अभ्यास शान्ति प्रयासको चौथो संस्करणले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरुमा सहभागी हुने फौजको पेशागत दक्षता, समन्वयात्मक क्षमता अभिवृद्धि तथा सेना योगदान गर्ने देशहरु बिच भावनात्मक सम्वन्धलाई समेत सुनिस्चित गर्ने उद्देश्यले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँंचखालमा चौथो अभ्यास भईरहेको महासेनानी सिन्वाले बताए । उनीसँगै अमेरिकाका अभ्यास निर्देशक ड्यानियल हाकाला समेत नियमित अभ्यासमा संलग्न छन् ।
अभ्यास ४ मा बंगलादेश, फिजी, घांना, मलेसिया, ईन्डोनेसिया, मंगोलिया, थाईल्याण्ड, उरुग्वे, नेपाल, दक्षिण कोरिया, अमेरिका, श्रीलंका, भियतनाम, क्यानडा, अष्ट्रेलिया, फिलिपिन्स, नाईजेरिया, पाकिस्तान लगायतका देशबाट १ हजार १ सय भन्दा धेरै सैनिकहरु सहाभागि छन् । नेपालमा पहिलो पटक सन २००० मा अभ्यास शान्ति प्रयास संचालन भएको थियो । त्यस्तै सन २०१३ मा र सन २०१७ मा अभ्यासको दोस्रो तथा तेस्रो संस्करण नेपालमा भईसकेको छ ।
हरेक वर्ष हुने उक्त अभ्यास नेपालका अलावा मलेसिया, मंगोलिया, बंगलादेश र इण्डोनिशियामा हुँदै आएको छ । अभ्यास शान्ति प्रयास ४ मा १८ राष्ट्रका १ हजार १ सय ६२ सैनिकहरुको सहभागीतामा विभिन्न किसिमका अभ्यासहरु भईरहेका छन् । अभ्यासको महत्वपूर्ण स्टाफ टे«निङ्ग इभेन्टमा ६६ जना प्रशिक्षार्थी सहभागि छन् । अधिकृत तहका सैनिकहरुले हेडक्वाटर तहको काम गर्ने दक्ष जनशक्तिका रुपमा अभ्यास गरिरहेका छन् ।
१५ देशका ६६ जना प्रशिक्षार्थीलाई ६ जना मुख्य प्रशिक्षक र २८ जना १० वटा देशका अधिकृत तहका सैनिकहरुले अभ्यास गराई रहेका छन् । उक्त अभ्यास चार दिनको हुनेछ । मेजर दिवाकर रायमाझीले ८ वटा समुहमा उक्त अभ्यास भईरहेको बताए ।
अभ्यास शान्ति प्रयास ४ मा लैङ्गिक समानता, मेडिकल तथा द्वन्द्वका क्रममा मेलमिलाप तथा समन्वय र सहकार्य सम्वन्धी अभ्यास भईरहेको छ । जसमा ८० जनाले भाग लिएका छन् । आफै कसरी सुरक्षित हुने र योगदान दिने भन्ने विषयमा समेत उक्त अभ्यासमा जानकारी गराईएको मेजर सुवेश कायश्थले बताए । उक्त अभ्यासमा विभिन्न प्रकारका सिकाईहरु छन् ।
त्यस्तै ११ देशका १२ वटा टुकडीहरुले बदलिँदो अवस्थामा विश्वमा भईरहेका विभिन्न प्रकारका सुरक्षाका विधी र अभ्यासका बारेमा जानकारी लिनेछन् । एउटा टुकडीमा ३० जना सैनिक सहभागि रहेको मेजर सुुरज बस्न्यातले बताए ।
द्वन्द्वग्रस्त मुलुकहरुमा महिला, बालबालिका तथा विभिन्न पक्षहरुलाई कसरी सुरक्षित बनाउने र उनिहरुको अधिकारको संरक्षणका लागि भएका अभ्यास र गरिनु पर्ने अभ्यासका बारेमा जानकारी गराईएको छ । शान्ति सेनामा दैनिक गर्नु पर्ने गतिविधिहरुमा विगतका कमिकमजोरीहरुलाई हटाउँदै थप नयाँ विषयमा समेत जानकारी गराउने अभ्यास भईरहेको छ । विद्रोहीहरुबाट हुन सक्ने सम्भावित जोखिमहरुका बारेमा समेत अभ्यास गराईएको छ ।
नेपाली सेनाले पहिलो पटक नेपालमा र शान्ति सेनामा समेत सोलार पाओर निर्माणमा सिपको प्रयोग गर्नेछन् । १८५ किलोवाट क्षमताको सोलार प्लान्ट वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँंचखालमा जडान गरिएको छ । अमेरिकाको आर्थिक सहयोगमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँंचखालमा जडान गरिएको सोलार प्लान्ट शान्ति सेनामा खटिने नेपाली सेनाहरुले जडान गर्न सक्षम हुनेछन् । ‘शान्ति सेनामा खटिएको नेपाली सेनाले भौतिक पूर्वाधार विकासका अलावा सिपको समेत प्रयोग गर्नेछन्’– मेजर सबेश कायश्थले भने–‘ वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँंचखालमा सैनिक कल्याणकारी कोषबाट ८ सय ५० जनाको क्षमताका भवनहरु निर्माण भईरहेका छन् ।
तालिममा सहभागि ३ सय सैनिकहरु अहिले दुईवटा भवनमा अभ्यास गरिरहेका छन् ।’ डिजलको प्रयोग घटाउन सोलारबाट उत्पादित विजुलीलाई प्रयोग गर्ने गरी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँंचखालमा जडान गरिएको सोलारको उद्घाटन गरिसकिएको छ ।
अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरुको बारेमा सहभागी राष्ट्रका सैनिकहरुलाई अवगत हुनुका साथै ती चुनौतीहरु सामाना गर्न आवश्यक क्षमता एवं समान व्यवसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिएको महासेनानी सिन्वाले बताए ।






