यो वर्षको हिउँद अवधि लम्बिने

काठमाडौँ / यो वर्षको हिउँद अवधि लम्बिने भएको छ ।
मौसमविद्हरूका अनुसार मंसिर १५ देखि फागुन १७ गतेसम्मलाई हिउँद अवधि मानिन्छ । यो अवधिलाई मात्रै हिउँद मान्ने हो भने आजबाट हिउँद अवधि सकिनेछ । तर, भोलि शुक्रबारबाट पुनः पश्चिमी वायु सक्रिय हुँदै छ । यो वायुमा हिउँद यामकै विशेषता भएका कारण यो वर्षको हिउँद अवधि लम्बिने मौसमविद्को भनाइ छ ।
मनसुन प्रवेश गर्ने र बाहिरिने अवधी अगाडि वा पछाडि सर्ने जस्तै हिउँदे अवधि पनि पछि सर्ने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले स्पष्ट पारे । भोलि साँझबाट पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने उनले बताए । सामान्यतः आजसम्म मात्रै हिउँद अवधि रहने भनिए पनि भोलिबाट पुनः सक्रिय हुने पश्चिमी न्यूनचापीय प्रणाली हिउँदे वर्षा गराउने विशेषताकै रहेको उनी बताउँछन् । यसबारे जानकारी गराउन भोलि बिहानसम्म जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन नै जारी गर्ने तयारी गरिरहेको छ । भोलिबाट पुनः सक्रिय हुने प्रणालीले पश्चिमी भू–भागमा तुलनात्मक रूपमा धेरै र मध्य तथा पूर्वी क्षेत्रमा कम वर्षा गराउनेछ ।
भोलिबाट नै छिटपुट हुँदै सुरु हुने वर्षा आइतबारसम्म जारी रहने मौसमविद् अधिकारी बताउँछन् । भोलि राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।