राष्ट्रिय मानव अधिकार आयोगले गर्यो लैङ्गिक संवेदनशिलताका बारेमा छलफल
धुलिखेल/राष्ट्रिय मानव अधिकार आयोगले काभ्रेपलाञ्चोक जिल्लामा रहेका विभिन्न कार्यालय तथा स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुसँग लैङ्गिक संवेदनशिलता विषयमा सरोकारवाला निकायको भूमिका विषयक अन्र्तक्रिया आयोजना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रुढीवादी, परम्परागत सोच, अन्धविश्वास र ब्यवहार कानून भन्दा बलिया भएकाले त्यसलाई दोष दिएर कोहि पनि निकाय र ब्यक्ति उम्कन नमिल्ने बताईन् । ‘समानताका लागि निर्माण भएका कानुनहरु सबै ब्यक्ति र निकायहरुले कार्यान्वयन गर्नु पर्छ’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन–‘कानून भएर ब्यवहारमा लागु गर्न सकिएन भने त्यसको औचित्य रहँदैन ।’ प्रमुख जिल्ला अधिकारी शर्माले लैङ्गिकता भित्र महिला हिंसाका घटना धेरै हुने गरेको बताईन् । कार्यक्रममा पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, विभिन्न पालिकाका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सहभागिहरुलाई राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत रेगम महर्जनले लैङ्गिकताका सन्र्दभमा कानून, ब्यवहार र अवस्थाका बारेमा जानकारी गराएकी थिईन् । लैङ्गिकताको प्राकृतिक रुपा, सोचमा कमि ल्याउने, ब्यवहारमा परिवर्तन ल्याउने, भाषामा तटस्थता र लैङ्गिक सचेतना र संवेनशिलतामा सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताईन् । कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले काभ्रेपलाञ्चोक जिल्लाको लैङ्गिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका दुईवटा कार्यपत्र माथी सहभागिहरुले जिज्ञासा राखेका थिए । विभिन्न कार्यालयका प्रतिनिधिहरुले भएका अभ्यास र अवस्थाका बारेमा जानकारी गराएका थिए । विशेषगरी सेवा लिन जाने कार्यालयहरु जिल्ला अदालत, मालपोत, प्रहरी, स्थानीय तहका बारेमा सहभागिहरुले जिज्ञासा र चासो ब्यक्त गरेका थिए ।





