विद्या सागर स्कुलमा अभिभावक दिवस, शैक्षिक प्रदर्शनी तथा फुड फन
अग्रसरताका निम्ति पढाई भन्ने नाराका साथ विद्या सागर इंलिस सेकेण्डरी स्कुलमा २८ औं अभिभावक दिवस, शैक्षिक प्रदर्शनी तथा फुड फन आयोजना गरिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले शैक्षिक प्रदर्शनीको अवलोकन गरेका थिए ।
उनले विद्यार्थीलाई कुनै पनि काम सानो हुँदै भन्ने सिकाउन शिक्षक अभिभावकलाई आग्रह गरेका छन । विद्या सागर स्कुलले व्यवहारिक ज्ञानलाई प्राथमिकता दिएको भन्दै उनले खुसी व्यक्त गरेका छन । विद्या सागर स्कुलले हरेक वर्ष शैक्षिक मेलाका रुपमा विविध कार्यक्रम सहित अभिभावक दिवस मनाउँदै आएको छ ।
हिजो विहिबारबाट सुरु भएको कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने विद्या सागर स्कुलका प्रिन्सिपल हिरा शर्मा नेपालले जानकारी दिए । अभिभावलाई समेत शैक्षिक प्रदर्शनी अवलोकनका लागि निमन्त्रणा गरिएको छ ।
विद्यार्थीको प्रतिभा प्रदर्शन, नयाँ नयाँ विषयको जानकारी, मौलिक सम्पदा संरक्षणको लागि साँस्कृतिक कार्यक्रम तथा स्थानीय परिकारको प्रवद्र्धनका लागि शैक्षिक मेला आयोजना गरिएको विद्यालयका चिफ कोर्डिनेटर विनय मग्रातीले जानकारी दिएका छन ।
शैक्षिक प्रदर्शनीमा कक्षा ८, ९, र १० का विद्यार्थीले बनाएका डाइनोसरको आकृति राखिएको छ । बाँस, ह्वाइट सिमेन्ट, लगायतका सामाग्री प्रयोग गरेर ३ दिनमा डाइनोसर बनाइएको विद्यार्थी विशाल श्रेष्ठले बताए ।
कलाका विषयलाई समेत प्रदर्शनीमा प्राथमिकताका साथ राखिएको छ । गणित, विज्ञान, सामाजिक विषयका विषयवस्तुलाई विद्यार्थीले अलक अलग प्रदर्शनी स्टल मार्फत जानकारी गराइरहेका छन ।
स्थानीय परिकारलाई समेत प्रदर्शनीमा समावेश गरिएको छ ।
विद्यार्थी र शिक्षक मिलेर बनाएको स्थानीय खानेकुरा मम, बारा, योमरीको प्रदर्शनी र विक्रिवितरण गरिएको छ । यस्तै विद्यालयमा नै विद्यार्थीले तयार पारेको विभिन्न परिकारका अचार समेत प्रदर्शनीमा राखिएको छ ।
विद्यालयले विद्यार्थीलाई टपरी बनाउन समेत सिकाएको छ । विद्यालयको प्रांगणमा विद्यार्थीहरु टपरी बनाइरहेको भेटिन्छन् । विवाह, ब्रतबन्ध, लगायतका शुभ कार्यमा टपरी अनिवार्य मानिन्छ ।
विद्यालयले अभिभावक दिवसको अवसर पारेर साहित्यिक उत्सव समेत आयोजना गरेको छ । । यस अन्तर्गत कविता वाचन, अंग्रेजी नेपाली बुक टक हुनेछ ।
नेपाली साहित्य बारे साहित्यकार सकुन्ताला जोशीले जानकारी गराएकी थिइन् । उनले आफ्नो पुस्तक आदिम सिमानाका बारेमा जानकारी गराएकी थिइन् । डिजिटल प्रविधिका विषय समेत प्रदर्शनीमा राखिएको छ ।
यस्तै सास्कृतिक कार्यक्रम समेत छन । विद्यार्थीले संस्कृति झल्कने गित, नृत्य, जनचेतनामुलक नाटक पस्तुत गरिरहेका छन । हरेक वर्ष अभिभावक दिवसको रुपमा कार्यक्रम हुँदै आइरहेको छ । विद्या सागर स्कुलले अभिभावक दिवसलाई शैक्षिक मेलाको रुपमा मनाउने गरेको छ ।






