नमोबुद्धमा जनप्रतिनिधिहरु संलग्न योजनामै ‘नक्कली’ सामाग्रीको प्रयोग

by | फाल्गुन २०, २०८०

नमोबुद्धमा जनप्रतिनिधिहरु संलग्न योजनामै ‘नक्कली’ सामाग्रीको प्रयोग

अबैद्य खानीको विगविगीमा पालिकाको मौन स्विकृति

नमोबुद्ध/नमोबुद्ध नगरपालिका वडा नम्वर ४ स्थित जनक मावीबाट चुहाने जाईटार जाने सडक निर्माणका क्रममा जनप्रतिनिधि संलग्न योजनामा नक्कली सामाग्री प्रयोग गरिएको छ । ठेक्का सम्झौतामा उक्त सडकमा क्रसरबाट उत्पादित ग्राभ्रेल प्रयोग गरिने उल्लेख भए पनि निर्माण ब्यवसायीले ‘नेचुरल’ ग्राभेल प्रयोग गरेका छन् । तर विल फछ्र्याैट गर्ने समयमा उक्त क्षेत्रमा प्रयोग गरिएको ग्राभेल क्रसरको भएको उल्लेख छ । 
‘नेचुरल ग्राभेल र क्रसरको ग्राभेलमा फरक छ । जिल्ला दररेट अनुसार नै उक्त ग्राभेलको मुल्य तोकिएको हुन्छ’–नमोबुद्ध नगरपालिकामा कार्यरत इन्जिनियर उज्वल अर्यालले भने– ‘जनक मावीबाट चुहाने हुँदै जाईटार जोड्ने सडकका लागि प्रयोग गरिने ग्राभेल क्रसरको प्रयोग गरिने भन्ने उल्लेख छ । त्यहाँ कुन प्रयोग भएको ग्राभेलका बारेमा जाँचबुझ हुनै बाँकी छ ।’ इन्जिनियर अर्यालले एसएनएम निर्माण सेवाले पहिलो चरणमा सम्पन्न गरेको नाली निर्माणको भुक्तानी भए पनि ग्राभेल विच्छाएको भुक्तानी नभएको बताए । ‘हामी हेर्छाै अनि मात्रै भुक्तानीका लागि कागजात तयार हुन्छ’–इन्जिनियर अर्यालले भने–‘यस अघिको ठेक्कामा नेचुरल ग्राभेल भन्ने थियो । त्यहि प्रयोग भयो । अहिले सम्झौतामा क्रसरको ग्राभेल भनिएकाले अध्ययन पछि मात्रै भन्न सकिन्छ ।’ नेचुरल ग्राभेल प्रति घन मिटर जिल्ला दर रेट अनुसार १७ सय छ भने क्रसरको प्रति घन मिटर ३५ सय छ । दोब्बर भन्दा धेरै रेट भए पछि निर्माण ब्यवसायीहरुले कर्मचारी र जनप्रतिनिधिहरुलाई प्रभावमा पारेर नेचुरल ग्राभेललाई क्रसरको भन्ने बनाउँदै आएका छन् । 
प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्माले क्रसरको खानी प्रयोग गर्ने भन्ने सम्झौता अनुसार नै हुनु पर्ने बताए । ‘हामीले प्राविधिक स्टमेट र सम्झौता अनुसार नगरेको कामको भुृक्तानी गर्न मिल्दैन, गरेका पनि छैनौ’–प्रमुख प्रशासकिय अधिकृत ईश्वरीप्रसाद शर्माले भने–‘पहिलो विल नाली निर्माणको भुक्तानी भएको हो । दोश्रो विल प्राप्त भएकै छैन । स्टमेट अनुसार नभएको कामको भुक्तानी हुँदैन ।’ निर्माण ब्यवसायी कम्पनी एसएनएम निर्माण सेवा हो । उक्त कम्पनीका संचालक विक्रम तामाङ हुन् । बाबु शेरबहादुर तामाङ वडा नम्वर ८ का अध्यक्ष छन् । छोराको नाममा कम्पनी नामासारी गरेको भए पनि उनि आफै ब्यवसायमा संलग्न छन् । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित शेरबहादुर तामाङले जनप्रतिनिधि पदको दुरुपयोग गरेको स्थानीयहरुले बताएका छन् । उक्त सडकमा समपुरक बजेट अन्र्तगत २ करोड रकम विनियोजन भएको थियो । ठेक्का लगाउँदा ५२ प्रतिशत कम सम्झौता भए पनि नाली तथा ग्राभेल निर्माणका लागि प्रयोग गरिएका अधिकांश सामाग्रीहरु सम्झौता विपरित प्रयोग गरिएको स्थानीयहरुले बताएका छन् । नगरपालिकाका प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्न लामा, प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्मा र इन्जिनियर उज्ज्वल अर्याललाई समेत उक्त विषयमा नागरिकहरुले जानकारी गराईसकेको बताएका छन् । स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जनप्रतिनिधि र कर्मचारीको मिलमेत्तोमा हुने गरेको अनियमितताका बारेमा उजुरी गरेका छन् । 
 नेचुरल ग्राभेल प्रयोग गरिएको जनकमावी चुहाने जाईटार सडक खण्ड
अधिकांश वडामा अबैद्य खानी 
नमोबुद्ध नगरपालिका भित्र संचालित योजना तथा बाहिरी पालिकाका योजनाहरुमा समेत प्रयोग गर्ने गरी कतै जनप्रतिनिधी, कतै निर्माण ब्यवसायी र कतै स्थानीयहरु आफैले आफ्नो जमिनमा अबैद्य खानी संचालन गरिरहेका छन् । अबैद्य खानी संचालनका सन्दर्भमा नगरपालिकामा कुनै जानकारी नआएको प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्माले बताए । ‘हामीलाई नगरपालिकाका विभिन्न वडाहरुमा अबैद्य खानी र क्रसर संचालनका बारेमा उजुरी आएको छैन’–प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्माले भने–‘उजुरी आएमा तत्काल रोक्छौं । वडा नम्वर ७ मा रोकि पनि सकेका छौं ।’ तर स्थानीयहरुले नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको संलग्नतामा नै सबै वडामा निर्माण ब्यवसायीका नाममा जनप्रतिनिधिहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खानी संचालन गरिरहेको बताएका छन् । 
नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुरे तामाङ आफैले छोरा आईते सिं तामाङलाई जिम्मेवारी दिएर अबैद्य खानी संचालन गरिरहेका छन् । उनको खानीबाट उत्पादित सामाग्री धुलिखेल तथा पनौतीका विभिन्न योजनाहरुमा समेत प्रयोग हुने गरेको छ । विना विल सामाग्री विपी राजमार्ग भई विक्री हुँदा प्रहरीले समेत बेवास्ता गरिरहेको स्थानीयले बताएका छन् । नमोबुद्ध–तेमाल सडकमा प्रयोग गरिएका अधिकांश सामाग्री उक्त खानी कै उत्पादन हुन् । उक्त सडक अहिले अलपत्र अवस्थामा छ । अबैद्य खानी संचालनमा वडा अध्यक्ष आफै सहभागि भएको गुनासो पटक पटक नगरपालिकामा प्राप्त भए पनि नगरपालिकाले मौन समर्थन दिएको छ । एकातिर नगरपालिका आफै निकासी करको ठेक्का लगाउँछ अर्काे तिर नगरपालिका आफै अबैद्य खानी संचालनका लागि मौन समर्थन गरिरहेको छ । उनको खानी नमोबुद्ध पालिका भित्रकै सबैभन्दा धेरै उत्पादन गर्ने भित्र पर्दछ । प्रमुख प्रशासकिय अधिृकत शर्माले भने आफुलाई उक्त वडामा खानी भएको बारे जानकारी नभएको प्रतिक्रिया दिए । ‘त्यस्तो छैन होला, भए पनि बाटोमा परेको स्थानमा कतै कतै केहि ट्रिप सामान निकालिएको बाहेक अरु जानकारी छैन’–उनको भनाई थियो । 

वडा नम्वर ५ स्थित वडा अध्यक्ष सुरे तामाङले आफ्नै घर मुनी संचालन गरेको अबैद्य खानी । जसबाट एक हजार टिप भन्दा धेरै सामाग्री विभिन्न स्थानमा विक्री भईसकेको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिका वडा नम्वर ७ मा दुईवटा अबैद्य खानी संचालन भईरहेका छन् । भकुण्डे काक्रे सडक निर्माणका लागि प्रयोग गरिएका अधिकांश निर्माण समाग्री धर्मशालामा संचालन भएको अबैद्य खानीबाट उत्पादन गरिएको छ । आशिष लामाले उक्त खानी संचालन गरिरहेका छन् । जनप्रतिनिधि नाताले आफ्नै पर्ने आडमा आशिषले अबैद्य खानी संचालन गरिरहेका छन् । नमोबुद्ध नगरपालिका भित्र संचालन हुने अबैद्य खानी र क्रसर तथा योजनाहरुमा प्रयोग हुने निर्माण सामाग्रीमा सम्झौता भन्दा फरक सामाग्री प्रयोग गरेर अनियमित भईरहेको छ । नमोबुद्ध नगरपालिका वडा नम्वर २ मा आकाश तामाङले खानी संचालन गरिरहेका छन् । वडा नम्वर ३ मा पनि जनप्रतिनिधिकै आडमा सडक छेउमा परेको भन्दै खानी संचालन गरिएको छ । वडा नम्वर ४ मा बालुवा खानी संचालन भएको छ । वडा नम्वर ५ मा आईते सिं तामाङले खानी संचालन गरिरहेका छन् भने वडा नम्वर ६ मा पनि जनप्रतिनिधिहरुको संलग्नता अबैद्य रुपमा खानीहरु संचालन भईरहेका छन् । वडा नम्बर ७ मा आशिष लामाले खानी संचालन गरेका छन् । वडा नम्वर ८ मा पनि अबैद्य रुपमा खानी संचालन भएको छ । वडा नम्वर १० बाहेक सबै वडामा अबैद्य रुपमा कुनै न कुनै प्रकारका खानी संचालन गरिएको छ । जसबाट उत्पादित सामाग्रीहरु योजनामा तथ अन्य क्षेत्रमा पनि पठाउने गरिएको छ । स्थानीयहरुले अबैद्य खानीबाट उत्पादित धुलोबाट हुन सक्ने असर तथा अन्य जोखिमका सम्भावित दुर्घटनाका बारेमा जनप्रतिनिधि आफै संलग्न भए पछि नागरिकहरुले गर्ने अपेक्षा को सँग गर्ने ? प्रश्न गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत ईश्वरीप्रसाद शर्माले आफुलाई अवैद्य खानीका बारेमा केहि जानकारी नभएको तर बुझ्ने प्रतिक्रिया दिए ।

वडा नम्वर ७ मा संचालन भएको अबैद्य खानी ।

साथमा भिडियो :