नयाँ मन्त्रीहरूको शपथ आजै गराइदिन राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ मन्त्रीहरूको शपथ आज नै गराइदिन आग्रह गरेका छन् । नयाँ सत्ता गठबन्धन बनेसँगै प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई केही बेरअघि भेटेर जानकारी गराएका हुन् ।
प्रधानमन्त्री दाहालले तीन जना मन्त्रीलाई सोमबार साँझ नै शपथ गराउने तयारी गर्न राष्ट्रपति पौडेललाई आग्रह गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीले औपचारिक रूपमा नयाँ मन्त्रीहरूको नाम पठाउने पनि बताएका छन् ।
कांग्रेस मन्त्रीले राजीनामा नदिएपछि हटाएर उनी नयाँ मन्त्री बनाएको पत्र लिएर गएका हुन् । अहिलेसम्म ३ जना मन्त्रीको टुंगो लागिसकेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ ।
जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय थप गर्नुपर्ने भनेपछि दलहरूले छलफल लम्ब्याएका हुन् ।






