गठबन्धन फेरिएसँगै एकीकृत समाजवादी अन्योलमा

by | फाल्गुन २१, २०८०

गठबन्धन फेरिएसँगै एकीकृत समाजवादी अन्योलमा

सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी अलमलमा परेको छ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ राजनीतिक घटनाक्रमका विषयमा दिउँसो ३ बजे बस्ने सचिवालयको बैठकमा छलफल हुने बताए । यद्यपि, एकीकृत समाजवादी सुरुदेखि नै वाम गठबन्धनको पक्षमा भएको हुँदा नयाँ समीकरणको पनि स्वागत गर्ने बताए ।

अहिलेसम्म नयाँ गठबन्धनमा माओवादीसँग नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । तर दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा एकीकृत समाजवादी भने बाहिर परेको छ ।

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने पार्टीको पदाधिकारी बैठकमा बताएका छन् ।

हाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल कृषिमन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।