गृह मन्त्रालयमा तीन दलको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफललाई तीव्र पारेका छन।
यद्यपी गठबन्धनमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछि भागबन्डाको विषय टुङगोमा पुग्ने नेताहरुले बताएका छन् । उपप्रधान तथा गृहमन्त्रीसहित सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने तयारीमा छ । गृहमा एमाले र माओवादीको पनि दाबी यथावत नै छ । अर्थ र परराष्ट्र छोड्नुपर्ने हुँदा गठबन्धनको ठूलो दलका रुपमा गृहमा एमालेको दाबी छ । माओवादीले अर्थ मन्त्रालय लिन सक्ने अवस्थामा एमालेको दाबी गृहमा हुनेछ ।
मन्त्रालय बाँडफाँड टुंग्याउन प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा जुटेका छन ।मन्त्रिपरिषद्मा जिम्मेवारी बाँडफाँट तथा अरु दलहरुलाई सत्ता गठबन्धनमा सहभागी गराउने प्रयास भैरहेको छ । प्रचण्ड र ओलीले हिजो नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकसाथ भेट गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन ।
हिजोको छलफलपछि एमाले अध्यक्ष ओलीले नेता नेपालसँगको छलफल सकारात्मक नै भएको प्रतिक्रिया दिएका छन। एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका अनुसार अध्यक्ष नेपालले आज पार्टीभित्र छलफल गरी सरकारमा जानेबारेमा निर्णय लिने बताएका छन ।
सरकारमा सहभागी हुने दलहरूको सङ्ख्या यकिन नहुँदा तथा शक्तिशाली मन्त्रालयहरूमा ठूला दलको दाबीले मन्त्रालय बाँडफाँटमा कठिनाइ देखिन्छ । सत्ता गठबन्धनलाई बलियो बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र जसपाबाहेक एकीकृत समाजवादी र अन्य साना पार्टीलाई समेत सामेल गर्ने गरी मन्त्रिपरिषद् विस्तारलाई केही दिन थाती राखेर भए पनि छलफल गर्ने शीर्ष नेताको मनशाय छ ।
नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन ।






