सुनको मूल्य हालसम्मकै उच्च
नेपाली/सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ ।
काठमाडौं आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
मंगलवार प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार नौ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २२ हजार चार सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर १ हजार ४ सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औंस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ ।






