दावाको नागरिकता छानविन प्रतिवेदनमा गृहले सिफारिस गरेका दुई मध्ये एक कर्मचारी पक्राउ

by | फाल्गुन २४, २०८०

दावाको नागरिकता छानविन प्रतिवेदनमा गृहले सिफारिस गरेका दुई मध्ये एक कर्मचारी पक्राउ

गृह मन्त्रालयले दिएको प्रतिवेदनमा तत्कालिन समयमा विदेशी नागरिक दावा तामाङ भनिने निमा तामाङ लगायतलाई नागरिकता विक्री गर्ने प्रयोजनमा संलग्न भएका तत्कालिन सुब्बा रामचन्द्र अर्याल र अधिकृत झपेन्द्रराज खरेललाई कारवाहीको सिफारिस गरेको थियो । सोहि अवधीमा जिल्लाबाट जारी भएका ३ सय ५० वटा नागरिकताको अनुसुची भेटिएका छैनन ।

मोतीराम तिमल्सिना
धुलिखेल
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा तत्कालिन सुब्बा रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक अधिकृत पक्राउको तयारीमा भए पनि उनी उपचारका लागि भारत गएको प्रहरीले सूचना पाएको छ ।

हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो । नागरिकता विक्री गरेको सूचना पाए पछि उनलाई कारवाही स्वरुव अन्य जिल्लामा सरुवा गरी जिल्ला प्रशासनको उक्त अनुसुची खोजेको बेला उपस्थित गराउने गरी कागजा गराईएको थियो । तर अहिले जिलल प्रशासन कार्यालय काभ्रेमा उक्त कागजात र उनि सरुवा हुँदा गराईएको कुनै कागजात फेला पर्दैन । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट उनी नुवाकोट हुँदै यातायात कार्यालय काठमाडौं, ठूलो भ¥याङमा थिए । त्यहाँबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।

काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले काभ्रे प्रहरीलाई जिम्मा लगाएको थियो । अर्याल सहितका कर्मचारी मार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए । उनले नागरिकताको अभिलेखमा आफै औठा छाप लगाएको खुलेको छ । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावा जिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा रहेका थिए ।

सिआईबीको अनुसन्धानबाट काभ्रे प्रशासनले विदेशी नागरिकलाई नागरिकता दिलाउन नयाँ नागरिकता जारी र राहदानीसम्बन्धी फाँटमा झपेन्द्रराज खरेलसँगै अर्याललाई पनि पठाएको खुलेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए ।

दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो । उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेको थियो ।

गृहले दुई कर्मचारीलाई कारवाहीको सिफारिस गरेको थियो
काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र पटक पटक राहदानी लिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा क्षिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारवाही नभएको गृह मन्त्रालयले गरेको छानविन पछिको प्रतिवेदनमा उल्लेख गरेको छ । गृहले गरेको १६८ पृष्ठको छानविन प्रतिवेदन मदानी विट डकमले प्राप्त गरेको छ ।
छानविन समितिले कर्मचारी तथा राजनीतिक आडमा ठुलै सेटिङमा नै दावा क्षिरिङ लामा भनिने ब्यक्तिले निमा तामाङको नामबाट नेपाली नागरिकता बनाई राहदानी प्रयोग गरी देश विदेशका आपराधिक गिरोह परिचालन गरी नेपालमा विभिन्न अपराध एवं अबैद्य काम गर्ने एउटा गैर देशीय नागरिकले लिएको नेपाली नागरिकताका सम्वन्धमा बुझाईएको प्रतिवेदनलाई गृह मन्त्रालयबाट बेवास्ता गर्दा अपराधीहरुले बारम्बार चलखेल गर्ने मौका पाईरहेका भन्ने बुँदाको संक्षेपिकरण गरेको छ । प्रतिवेनले गरेको पुष्टी अनुसार निमा तामाङले नागरिकता नम्वर ३०–०१–७४–११८६८ बाट प्रथम पटक सन् २०१८–०१–३ अर्थात २०७४ पुष १९ गते गते राहदानी बनाएका छन् ।

सोहि मितिको राहदानी नम्वर १०७४२५५० हो । सोहि नागरिकताबाट पुनः १०८०५८०८ जारी गर्दा राहदानी विभागमा सुरक्षित रहेको औठा छाप बेल्जियम नागरिक दावा क्षिरिङको राहदानी नम्वर न्ब् ४५९७३६४ को औंठा छापसँग मेल खाएको विधिविज्ञान प्रयोगशाला सामाखुशीबाट प्राप्त भएकाले प्रचलित कानून बमोजिम कडा कारवाही गर्न सुझाव दिएको छ ।

नेपाली राहदानी वाहक निमा तामाङ नेपाली राहदानी नम्वर १०८०५८०८ प्रयोग गरी २०१८–०५– १६ अथार्त नेपाली मिति २०७५ जेठ २ गते बुधबार नेपालबाट प्रस्थान गरी ७ दिन पछि २०१८–०५–२३ अर्थात २०७५ जेठ ९ गते आगमन भएको अध्यागमन विभागको रेकर्डमा उल्लेख छ । यो राहदानी प्रयोग गरी निमा तामाङ एक पटक विदेश गएर फर्केका छन् ।

बेल्जियम राहदानी वाहक दावा क्षिरिङ राहदानी नम्वर भ्ए४४४१०५ प्रयोग गरी सन् २०१८–०८–३१ देखि २०२२–१२–२७ सम्म अर्थात २०७५ भदौ १५ गते शुक्रबार देखि २०७९ पुष १२ मंगलबारसम्म २० पटक आवतजावत गरेका छन् । उक्त अवधीमा भिसा र अध्ययन भिसामा नेपालमा बसेको खुलेको छ ।

बेल्जियम नागरिक दावा क्षिरिङले बेल्जियमको नयाँ राहदानी नम्बर न्ब् ४५९७३६४ जारी भए पछि प्रथम पटक २०२३–०१–२६ मा प्रस्थान गरी २०२३–०५–२० अर्थात २०७९ माघ १२ गते विहिबार देखि २०८० जेठ ६ गते शनिबार फर्किए पछि हालसम्म नेपालमा रहेको देखिएको छ ।
त्यस्तै बेल्जियम नागरिक हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको चलानी नम्वर ६९२ मिति २०८० असार १५ गतेको पत्रबाट अध्ययन भिसा सिफारिस भए अनुसार २०२३–०७–१६ देखि २०२४–०१–३१ अथार्त २०८० असार ३१ गते आईतबार देखि २०८० माघ १७ गते बुधबारसम्मको अध्ययन भिसा प्राप्त गरी नेपालमा बसिरहेको खुलेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको चलानी नम्वर ६९२ मिति २०८० असार १५ को सिफारिस पत्र विश्व भाषा क्याम्पसको चलानी नम्वर ५०१ मिति २०८० असार १३ गतेको पत्रका आधारमा निज दावा क्षिरिङ हाल विश्वभाषा क्याम्पसमा नेपाली भाषा नन् एकेडेमिक प्रथम सेमेस्टारमा अध्ययनरत रहेको देखिएको छ । प्रतिवेदनमा थवाङ गाउँपालिका –२, रोल्पा घर भएकी अमला रोक्काका दुई श्रीमान रहेको उल्लेख छ । अमला रोक्काको मतदाता नम्वर २०६११०१९३ नम्वर उल्लेख छ । २०३६ साल जेठ २० गते जन्म मिति रहेको रोक्काको नागरिकता नम्वर ४४१०४ उल्लेख छ ।

उनले रोल्पा जिल्लाबाटै नागरिकता लिएकी हुन् । बाबु मुलमान र आमा उजला राखेकी अमलाले पतिको नाम सुजन प्रकाश रोक्का राखेकी छिन् । मतदान स्थल साविक थवाङ गाविस भवन राखिएको छ ।

२०७९ बैशाख २८ गते अध्यागमन विभाग, कालिकास्थान, काठमाडौमा आगमन÷प्रस्थान सहजीकरण गरिदिने सम्वन्धमा दिएको निवेदनमा दावाले भनेका छन्–‘नेपालको पर्यटक भिसामा बसिरहेको बेल्जियमको नागरिक म दावा क्षिरिङ राहदानी नम्वर भ्ए४४४१०५ लाई नेपालबाट अन्यत्र मुलुकमा जान र अन्यत्र मुलुकबाट नेपाल प्रवेश गर्नका लागि सहजीकरण गरिदिन हुन अनुरोध छ । दावा क्षिरिङको तर्फबाट निजको श्रीमती श्री अमला रोक्का नागरिकता प्रमाणपत्र नम्वर ४४१०४÷रोल्पा ।’ दावाले निवेदनमा दायाँ बाँया ल्याप्चे सहित हस्ताक्षर गरेका छन् । अमला रोक्काको पहिलो श्रीमान सुजन प्रकाश रोक्का हुन् भने दोश्रो श्रीमान दावा क्षिरिङ हुन् । गृह मन्त्रालयले निमा तामाङको नागरिकता छानविन गर्न गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा अमला रोक्काका दुई श्रीमान भएको उल्लेख गरेको छ ।

दावाले नेपाली नागरिकता निमा तामाङको नामबाट २०७४ पुष २० गते नमोबुद्ध ११ काभ्रेपलाञ्चोकको ठेगाना राखेर लिएका छन् भने राहदानी पनि काभ्रेबाटै लिएका छन् । उनले बाबुको नाम पेमा तामाङ राखेका छन् । एकै दिन नागरिकता लिएका पासाङ तामाङ पनि विदेशी भएको खुले पनि उनि कहाँ र कस्तो अवस्थामा छन् खुलेको छैन । छानविन समितिले उनलाई समेत पक्राउ गरी आवश्यक कारवाहीका लागि सुझाव पेश गरेको छ ।

२०८० भदौ ११ गते छानविन समितिले गृह सचिवलाई १ सय ६८ पृष्ठको प्रतिवेदनको बुझाएको छ । उप सचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा बनेको समितिले १० वटा विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ ।

सामाजिक संजाल र संचारमाध्यममा आएको समाचारहरुको खोजी र अध्ययन गरेको छ भने तत्कालिन समयमा नागरिकता वितरणमा संलग्न तत्कालिन अधिकृत झपेन्द्रराज खरेल, सुब्बा रामचन्द्र अर्याल, वडा अध्यक्ष भनिएकी सरस्वती पण्डित कार्की, वडा अध्यक्ष कृष्णबहादुर लामा र तत्कालिन प्रमुख जिल्ला अधिकारी शिव शिंखडा समेतलाई बयान लिएको छ ।

राहदानी विभागबाट लिएको राहदानीमा प्रयोग भएको औठा छाप र नागरिकता अभिलेखमा उल्लेख भएको औठा छाप फरक परेको छ । समितिले २०७४ पुष २० गते ३०–०१–७४–११८६८ नम्वरको निमा तामाङको नागरिकता फोटो सहितको ढड्डा र सिएमआईएस अभिलेख रहेको तर अनुसुची १ फारम अभिलेख नभेटिएको तथा मौकामा गरिएको सर्जमिन मुचुल्का तथा छानविन तहकिकतामा प्राप्त प्रमाणका आधारमा नागरिकता प्रमाणपत्र किर्ते जालसाझी गरी लिएकोले उक्त कार्यमा संलग्नलाई आवश्यक कानूनी कारवाही गर्न सुझाव दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा तत्कालिन अवस्थामा र हाल कार्यरत सम्वन्धित शाखाका कर्मचारीहरुसँग नभेटिएको अनुसुची फारमको विषयमा अनुसन्धान गरिँदा फेला नपरेकाले कारवाहीका लागि काभ्रेपलाञ्चोकलाई लेखी पठाउन निर्देशन दिएको छ । उक्त प्रतिवेदन तोक आदेश गरी कार्यान्वयन गर्ने नीति, योजना महाशाखा प्रमुख सह सचिव रुद्रादेवी शर्मा आफै सोमबारबाट काभ्रेको प्रमुख जिल्ला अधिकारी भएकी छिन् ।

आफ्नै तोक आदेशको कार्यान्वयन आफै गर्ने स्थानमा आएकी शर्माको परीक्षा यहि नागरिकताबाट शुरु हुनेछ । दावा तामाङ र निमा तामाङ एकै ब्यक्ति हुन् भन्ने कुरामा दुविधा नरहेकाले निजलाई नेपालको प्रचलित कानून बमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारवाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्वन्धमा प्रचलित कानून बमोजिम आवश्यक कारवाही अगाडी बढाउन उपयुक्त हुने सुझाव दिएको छ ।

उनी अहिले पुर्पक्षका लागि हिरासमा छन् । काभ्रे प्रहरीले उनि सहित अन्य केहि चिनियाँलाई धुलिखेलमा ल्याएर अनुसन्धान गरिरहेको छ ।