महिला माथी हुने विभेद र हिंसा विरुद्ध राज्यलाई खवरदारी गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
धुलिखेल÷महिला तथा बालिकाहरु माथी हुने गरेको हिंसा न्यूनिकरण गर्न, महिलाहरु माथी भएको विभेद अन्त्य गर्न, संविधान र कानूनले तोकेका सबै अधिकारहरुको प्रत्याभुति गर्न र सुरक्षित वातावरणमा कार्य गर्ने अवसरको माग गर्दै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
अधिकारकर्मीहरु निर्मला काफ्ले, माया बादे लगायतका महिलाहरुको समुहले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् । काभ्रेपलाञ्चोक जिल्लामा ३ महिनाको शिशु देखि ८४ बर्षिया महिलामाथी जर्बजस्तिकरणीका घटना भएका छन् ।
आत्महत्या गर्न बाध्य बनाउने वातावरण घर परिवारले सिर्जना गरी महिलाहरु आत्महत्या उन्मुख भएका घटनाका अनुसन्धान भईरहेका छन् । सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा नै महिलाहरु माथी हुने हिंसा, विभेद र हत्यासम्मका घटनामा राज्यका निकायहरु सक्रिय हुनु पर्ने बताउँदै उनिहरुको संरक्षण तथा अधिकारका लागि राज्य जिम्मेवार बन्न खवरदारी गरेको अधिकारकर्मी निर्मला काफ्लेले बताईन् ।
त्यस्तै अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेकपा एमाले निकट अखिल नेपाल महिला संघ काभ्रेले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाएको छ ।
अध्यक्ष विमला सापकोटा दाहालको नेतृत्वमा गएको महिलाहरुको टोलीले महिलाहरु माथि भईरहेको राजनीतिक, सामाजिक, आर्थिक विभेदको अन्त्य गर्न, हिंसा न्युनिकरण गर्न र हिंसा तथा घटनामा संलग्नहरुलाई कडा कारवाही गर्न माग गरेका छन् ।






