काभ्रेका सामुदायिक विद्यालयः शहरमा खचाखच, रित्तिदै गाउँ
जिल्लाकै धेरै विद्यार्थी भएको विद्यालय धुलिखेल सञ्जीवनी रहेको छ भने कम विद्यार्थी भएको विद्यालय भैरव मावी धाप रहेको छ । सञ्जीवनीबाट १ सय ४६ विद्यार्थीले परीक्षामा सहभागिताका लागि फाराम भरिरहँदा महाभारतमा रहेको भैरव माविबाट ४ जना विद्यार्थी सहभागि हुँदैछन् । नीजि तर्फ नेपाल प्रहरीमा १ सय ९५ जना छन् । अधिकांश नीजि विद्यालयमा एक सय भन्दा कम विद्यार्थी छन् ।
लक्ष्मण तिमल्सिना
धुलिखेल
एसईई २०८० मा काभ्रेपलाञ्चोक जिल्लाका २ सय १६ माध्यमिक विद्यालयबाट ५ हजार ९ सय ५६ विद्यार्थी सहभागि हुँदैछन् । जसमा नियमिततर्फ ५ हजार ७ सय १९, २ सय ५ प्राविधिक, ३२ जना एक्जाम्टेड छन् ।
परीक्षा दिनेहरुमा बहिरा विद्यालयबाट ११ जना छन् । ३४ वटा विद्यालयबाट १० भन्दा कम विद्यार्थी छन् । गाउँमा रहेका अधिकांश विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको छ । शहरी क्षेत्रका विद्यालयहरुमा निजीमा भन्दा सामुदायिकमा धेरै देखिएका छन् ।
आजाद मावि बनेपाबाट खुल्ला तर्फका १० जना विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् भने अनौपचारिक तर्फ १ सय ८१ जना विद्यार्थी विद्याकुञ्ज अनौपचारिक मावीबाट सहभागि हुँदैछन् । आईतबार फागुन २७ गते केन्द्राध्यक्षहरुलाई परीक्षाका बारेमा प्रशिक्षण दिइनेछ । ।
शिक्षा समन्वय इकाई धुलिखेलकी प्रमुख उप–सचिव देवका ढकालले गत वर्ष कायम भएका केन्द्रहरुलाई नै यो वर्ष निरन्तरता दिएको बताईन् । कृष्ण मावी दाप्चाले प्राविधिक कारण देखाउँदै केन्द्र राख्न असहमति गरे पछि नजिकै रहेको लक्ष्मी नारायण मावीमा केन्द्र राखिएको छ भने तेमालमा रहेको पञ्चकन्या मावीबाट नारायणस्थान मावी पोखरीनारायणस्थान सारिएको छ । परीक्षा केन्द्रको ब्यवस्थापन, केन्द्राध्यक्षहरुलाई तालिम, प्रश्नपत्र र उत्तरपुस्तिकको ढुवानी तथा सुरक्षा लगायतका विषयमा आवश्यक तयारी भईरहेको उप–सचिव ढकालले बताईन् ।
एसईईका लागि जिल्लामा सबैभन्दा धेरै विद्यार्थी धुलिखेलमा रहेको सञ्जीवनी मावीमा छन् । जसबाट चालु शैक्षिक सत्रमा नियमिततर्फ १ सय ४६ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमा साधारण तर्फका १ सय ११ र प्राविधिक तर्फका ३५ छन् । जिल्लाको दोश्रो ठुलो विद्यालय भालेश्वर मावि रहेको छ । जसबाट नियमिततर्फ १ सय ८ जना विद्यार्थीले परीक्षा दिदै छन् । यस्तै भकुण्डेवेशीको जनक माविमा नियमिततर्फ ७५ जना विद्यार्थी रहेका छन भने प्राविधिक तर्फ ४७ जना गरी १ सय २२ जना विद्यार्थी रहेका छन ।
पनौतीको कुशादेवी मावीमा ६५ जना विद्यार्थी छन् । आजाद मावि बालुवमा ६० जना छन् । शिक्षा सदन मावि बनेपामा ५१ जना छन् । प्रभा मावि कात्तिकेदेउरालीमा ५१ जना छन् । इन्द्रेश्वर माविमा ५०, सर्वमंगला मावि पाँचखालमा ५० जना छन् । बाँकी विद्यालयहरु मध्ये अधिकांशमा ५० भन्दा कम विद्यार्थी छन् ।
नीजि तर्फ सबैभन्दा धेरै नेपाल प्रहरी स्कुल साँगामा छन् । जसमा १ सय ९५ विद्यार्थी छन् । बनेपाको काभ्रे माविबाट ९१ जवना विद्यार्थीले परीक्षामा भाग लिदै छन् । विद्यासागर स्कुलबाट ७५ जनाले भाग लिदैछन् । बनेपाको बेलरमा पनि ७५ जना छन् । गोल्डेन फ्युचर पाँचखालमा ५१ जना छन् । ५० भन्दा धेरै विद्यार्थी भएका निजीतर्फ जिल्लाका तीन विद्यालय मात्रै हुन् । विद्याकुञ्ज अनौपचारिक मावि बनेपाबाट यो वर्ष १ सय ८१ जनाले परीक्षा दिदैछन् ।






