धुलिखेलमा नमूना रोजगार कार्यक्रम शुरु, ७ सय ५३ मध्ये धुलिखेल सहित १७ पालिका छानिए

by | फाल्गुन २८, २०८०

धुलिखेलमा नमूना रोजगार कार्यक्रम शुरु, ७ सय ५३ मध्ये धुलिखेल सहित १७ पालिका छानिए

धुलिखेल÷नेपालका ७ सय ५३ वटा पालिका मध्ये सरकारले १७ वटा पालिकालाई नमूना रोजगार कार्यक्रम मार्फत बेरोजगारहरुलाई रोजगार उपलब्ध गराउने कार्यक्रम धुलिखेलमा शुरु भएको छ । बागमती प्रदेशमा धुलिखेल र काठमाडौ लगायतका पालिकाहरु उक्त कार्यक्रममा छनौट भएका छन् ।


धुलिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको नमूना रोजगार कार्यक्रम अन्र्तगत स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

रोजगार सेवा केन्द्र धुलिखेलको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले बेरोजगारहरुलाई रोजगार उपलब्ध गराउन प्रधानमन्त्री रोजगार कार्यक्रम र त्यसका अलावा अन्य संघ संस्था तथा नीजि क्षेत्रका विभिन्न पेशा ब्यवसाय, स्वरोजगारका लागि सिप प्रदान गर्ने नगरपालिकाका विभिन्न योजनाहरु कार्यान्वयन भईरहेको बताए ।

‘धुलिखेल नगरपालिकालाई आय–आर्जन मार्फत गरिवी अन्त्य गर्ने, सबै घर परिवारलाई आय–आर्जन गर्न सक्ने गरी सिप र रोजगारको वातावरण बनाउने प्रयत्न गरिरहेका छौं’–नगर प्रमुख ब्याञ्जुले बताए ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिवहरु, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । सहभागिहरुले रोजगार कार्यक्रम मार्फत स्थानीयहरुले प्राप्त गरेको अवसर, चुनौती र उनिहरुले गरेको कार्यका बारेमा सुझाव दिएका थिए ।

आगामी आर्थिक वर्षमा धुलिखेलले नमूना कार्यक्रमहरु के कसरी गर्ने लगायतका विषयमा छलफल गरिएको रोजगार संयोजक सम्झना शर्मा नेपालले बताईन् । धुलिखेलमा चालु आर्थिक वर्षका लागि ४ सय ३८ जनाले रोजगारका लागि नगरपालिकामा सूचिकृत गरेका छन् ।

नमूना रोजगार कार्यक्रमका लागि नगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा उपप्रमुख उपाध्यक्ष, दुई जना वडा अध्यक्ष प्रमोद श्रेष्ठ र बद्रिप्रसाद हुमागाई सदस्य, प्रमुख प्रशाशकीय अधिकृत सुरेन्द्र थापा मगर र रोजगार संयोजक सम्झना शर्मा नेपाल सदस्य सचिव रहेकी छिन् ।

नमूना कार्यक्रम अन्र्तगत जनप्रतिनिधि र कर्मचारी तथा सरोकारवालाहरुसँग अन्र्तक्रिया, नीजि क्षेत्र तथा सरोकारवालाहरुसँग अन्र्तक्रिया र बेरोजगार तथा रोजगारदाताहरुको तथ्यांङ्क अद्यावधीक लगायतका कार्यहरु गरिने रोजगार संयोजक सम्झना शर्मा नेपालले बताईन् ।

चालु आर्थिक वर्षबाट शुरु गरिएको उक्त कार्यक्रम आगामी दिनमा थप प्रभावकारी बनाउने गरी छलफल भईरहेको छ । १७ वटा पालिकामा एकै प्रकारका कार्यक्रमहरुको अनुभव पछि आगामी दिनमा थप पालिकाहरुलाई समेत विस्तार गरिदै लगिने उक्त कार्यक्रमको योजना रहेको छ ।