राष्ट्रियसभा अध्यक्षको लागि आज उम्मेदवारी दर्ता

by | फाल्गुन २८, २०८०

राष्ट्रियसभा अध्यक्षको लागि आज उम्मेदवारी दर्ता

भोलि (फागुन २९ गते) हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ। दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ।

संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको थियो।

नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने समझदारी भएको छ। माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि कांग्रेसमा राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भए पनि जित्न नसक्ने अवस्था भएपछि नयाँ उम्मेदवार खडा गरिएको हो ।

नयाँ गठबन्धनमा तलमाथि नभए दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने निश्चित छ। माओवादी, एमाले, एकीकृत समाजवादी र जसपासँग राष्ट्रिय सभामा ३९ सांसद छन्।