इलाममा सुहाङले मतान्तर बढाए, बझाङमा कांग्रेस र एमालेको कडा टक्कर

इलाम–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ भने बझाङमा एमाले र कांग्रेसबीच कडा टक्कर देखिएको छ । पछिल्लो मत परिणाम अनुसार इलाममा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखेका छन ।

उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन । खड्काले अहिलेसम्म ६ हजार २८० मत प्राप्त गरेका छन । उनीहरूबीचको मतान्तर २ हजार ६ सय १८ छ । एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन् बढाउँदै लगेका छन । पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म चार हजार ६ सय ३४ मत ल्याएका छन । त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले १ हजार ३०५ मत ल्याएका छन ।

इलाम २ मा अझै दुई तिहाई मत गन्न बाँकी छ । १ लाख १५ हजारभन्दा बढी मत भएको इलाम–२ मा ६९ हजार २ सय मत खसेको छ । यो कुल मतदाता संख्याको ६० प्रतिशत हो ।

उता, बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म २१ हजारभन्दा बढी मतगणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार २ सय २७ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ७ हजार ९ सय ७४ मत प्राप्त गरेका छन । त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ३३ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार १ सय ७१ मत ल्याएका छन ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए ।