तेजगंगा क्याम्पसले गर्‍यो बाल केन्द्रित शिक्षण विधि सम्बन्धि अभिमुखिकरण तथा स्टेशनरी वितरण

पनौती/ तेजगंगा क्याम्पसको आयोजनामा प्राथमिक तहमा अध्यापन गराउने शिक्षक/शिक्षिकाहरुको लागी बाल केन्द्रित शिक्षण विधि सम्बन्धि अभिमुखीकरण तथा विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ ।

पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको बालकल्याण आधारभुत विद्यालयमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा क्याम्पस प्रमुख डा.अम्भुभवानी कार्कीले शिक्षा बालबालिका र समाजका लागि भएकाले बालबालिका, समाज र बजार अनुकूलको पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन पद्धति विद्यालयले अंगाल्नु पर्ने बताईन् ।

सूचना प्रविधि र रोजगारी तथा उद्यमशीलतामा आधारित व्यावहारिक शिक्षा बजारको माग रहेको कार्कीले बताईन् । विद्यालयहरुमा अझै बालबालिकाको चाहना र सहभागिताले ठाउँ नपाएको, विद्यालयका सबै शिक्षकलाई एकै ठाउँमा ल्याएर विद्यालयमा आधारित बालमैत्री शिक्षण विधि तालिम प्रदान गरी बाल केन्द्रित शिक्षण प्रदान गर्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख मुक्ति नारायण काफ्लेले प्राथमिक तहको पाठ्यक्रमका बारेमा अबगत गराएका थिए । बालमैत्री शिक्षिका पार्वती दाहालले विद्यार्थीलाई नमुना कक्षा सञ्चालन गर्दे आएको र थप प्रभावकारी बनाउने बताईन् ।

कार्यक्रममा उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई क्याम्पस प्रमुख डा. अम्भु भवानी कार्कीले स्टेश्नरी सामाग्री वितरण गरेकी थिईन् । कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक कल्याणी बोहोरा, क्याम्पस सभा सदस्य राजन थापा, अरुणोदय बोर्डिङ्ग स्कुलका सहायक प्रिन्सिपल कृष्ण कुमार केसी, पनौती नपा वडा नम्बर ८ का पुर्व वडा सदस्य गौरी नारायण श्रेष्ठ, क्याम्पसका मानविकी संकायका भवनाथ वाग्ले लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख भिमसेन केसीले सञ्चालन गरेका थिए ।