नमोबुद्ध र मण्डनदेउपुरमा फेरिए प्रमुख प्रशासकीय अधिकृत, रोशीले हाजिर गराएन

बनेपा÷काभ्रेको मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् । मण्डनदेउपुर नगरपालिकामा लक्ष्मीप्रसाद बाँस्कोटा र नमोबुद्ध नगरपालिकामा पिताम्बर पाण्डेको सरुवा भएको छ ।

सरकारले विहिबार ४८ जना उपसचिवको सरुवा गर्ने क्रममा मन्डनदेउपुरमा कार्यरत मानबहादुर खड्का र इश्वरीप्रसाद शर्मालाई रिुवा गरेको हो ।


लक्ष्मीप्रसाद बाँस्कोटा किर्तिपुर नगरपालिका काठमाडौमा कार्यरत थिए भने पाण्डे बेलकोटगढी नगरपालिका नुवाकोटमा कार्यरत थिए । नमोबुद्धका शर्मालाई बाह्रविसे नगरपालिका सिन्धुपाल्चोक र खड्कालाई बेलकोटगढीमा सरुवा गरिएको छ ।

लामो समय देखि निमित्तका भरमा संचालन भएका काभ्रेका तीनवटा स्थानीय तहमा सरकारले नयाँ प्रमुख प्रशासकिय अधिकृत पदस्थापन गर्ने निर्णय गरेको भए पनि हाजिर गराएका छैनन । भुम्लु, रोशी र खानीखोला गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत खटाउने निर्णय गरेको थियो ।


भुम्लु गाउँपालिकामा अर्जुनकुमार राउत, रोशी गाउँपालिकामा शिवप्रसाद भन्तना र खानीखोला गाउँपालिकामा जीवन गैरे छन । चौरीदेउराली गाउँपालिकामा पनि शिक्षा शाखाका प्रमुखले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन ।

रोशी गाउँपालिकाले विहिबार हाजिर हुन गएका भन्तनालाई हाजिर गराएको छैन । उक्त पालिकामा यस अघि दुई जना प्रमुख प्रशासकिय अधिकृत हाजिर नगराएकै कारण फिर्ता गराईएको छ ।

मन्त्रालयमा सचिवसँग सल्लाह गरेर भन्तनाको उतै ब्यवस्थापन गर्ने गरी विहिबार अध्यक्ष दिनेश लामाले आफ्नै गाडीमा राखेर सिहदरवार लगिएका भन्तनालाई भोलि शुक्रबार १० बजे मन्त्रालयमा आउन भनिएको छ । निमित्त चलाईरहेका रामबहादुर तामाङ शिक्षा तर्फका हुन् । नयाँ आउने प्रमुख प्रशासकिय आफु भन्दा जुनियर हुने भन्दै उनले कसैलाई पनि हाजिर हुन दिएका छैनन ।


निमित्तका भरमा करिव ४ वर्ष देखि संचालन भएको रोशी गाउँपालिकाका ७ जना वडा अध्यक्ष नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर गराउनु पर्ने पक्षमा देखिए पनि उपाध्यक्ष मिमबहादुर तामाङ र अध्यक्ष दिनेश लामा सकारात्मक नभएको वडा अध्यक्षहरुले बताएका छन् ।

रामबहादुर तामाङ नेकपा माओवादी निकट कर्मचारी संगठनका नेता समेत भएकाले त्यहि शक्तिका आडमा वर्षाै निमित्त प्रमुख प्रशासकिय भएर बसिरहेका छन् । गाउँपालिकाले शुशासनका कुरा फलाकिरहँदा कर्मचारीलाई हाजिर नगराएर के सन्देश दिन खोजेको हो ? वडा अध्यक्षहरुले प्रश्न गरेका छन् । कहिलेसम्म निमित्तका भरमा पालिका चलाउने ? स्थानीयहरुले समेत प्रश्न गरेका छन् ।