डढेलो लगाउनेको सप्रमाण सुराकी दिनेलाई ५० हजार पुरस्कार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराएमा ५० हजार पुरस्कार प्रदान गरिने जनाएको छ। गाउँपालिकाले एक सूचना जारी गरी वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गाउँपालिकामा गराएमा सूचनादाताको नाम गोप्य राखी ५० हजार पुरस्कार प्रदान गरिने जनाएको छ।
आम नागरिकलाई असर गर्ने र कानुनले समेत बर्जित गरेको विषयमा दिनप्रतिदिन आगलागीको घटना घटेकाले यसलाई नियन्त्रणमा लिन पुरस्कारको व्यवस्था गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। ‘दैनिक आगलागी र वन डढेलोको घटनाहरू बढिरहेको कारणले त्यसलाई न्यूनीकरण गर्न डडेलो लगाउनेको सूचना दिनेलाई पुरस्कारको घोषणा गरिएको हो’, शेर्पाले भने, ‘गैरकानुनी काम गर्नेलाई कारबाही गर्ने र त्यस्ता कार्यको न्यूनीकरण गर्न प्रयत्न गर्ने हाम्रो प्रयास हो।’
गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनध्वज लामाद्वारा जारी सूचनामा हेलम्बुबासी लगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउने जस्ता कुनै पनि कार्य नगर्न समेत सचेत गराइएको छ। अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ।
पछिल्लो समय सिन्धुपाल्चोकको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको छ। डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको अनुसार पछिल्लो तीन महिनामा २ सय ५० हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ।