जिल्ला लिगमा सहभागी माउण्ट एभरेष्ट एफसी बनेपाका खेलाडीलाई जर्सी वितरण

बनेपा । काभ्रे जिल्ला लिग फुटबलमा सहभागी माउण्ट एभरेष्ट फुटबल क्लव बनेपाका खेलाडीलाई जर्सी वितरण गरिएको छ ।

काभ्रे जिल्ला फुटबल संघको आयोजनामा आजबाट सुरु भएको जिल्ला लिगमा सहभागी खेलाडीलाई एक कार्यक्रमकाबीच जर्सी वितरण गरिएको हो । खेलाडीलाई एसवाईएस ट्रेडर्सका सुदामा राजबाहकले २५ थान र कायस्थ बैन्क्वेट मार्फत २५ थान जर्सी सहयोग प्राप्त भएको थियो । यस्तै क्लवले २५ थान जर्सी उपलब्ध गराएको छ ।

कार्यक्रममा बोल्दै माउण्ट एभरेष्ट क्लवका अध्यक्ष मनिष भोछिभोयाले आफ्नो क्लवबाट सहभागी टिम राम्रो रहेकाले उपाधी जित्ने विश्वास व्यक्त गरेका छन । यस्तै क्लवका सल्लाहकार रविन्द्र वैदारले खेल भइरहँदा एकआपसमा टिममा समन्वय गर्न आग्रह गरे ।

टिम स्प्रिडले नतिजा आफ्नो पक्षमा पार्न सघाउने उनको भनाई थियो । खेलले प्रतिस्पर्धाको भावना जागृत गराउँदै सफल बन्न सिकाउने सल्लाहकार बैदारले बताए । बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले बनेपा नगरपालिकालाई खेलको माध्यमबाट चिनाउनको लागि पनि जिल्ला लिग अवसर बन्न सक्ने बताएका छन ।

उनले प्रतियोगिातामा राम्रो खेल प्रदर्शन गर्न आग्रह गरेका छन । कार्यक्रममा क्लवका सल्लाहकार सुविन्द्र राजभण्डारी, विज्ञान धौगोडा, क्लवका उपाध्यक्ष सुदामा राजबाहक, सदस्य धिरज शाक्य, रवि तौजले, सचिव सागर मानन्धर लगायतको उस्थिति रहेको थियो ।

माउण्ट एभरेष्ट क्लवले उद्घाटन खेल एफसी बनेपासँग खेल्दैछ । खेल आज दिउसो ४ः१५ बजे धुलिखेल खेल मैदानमा हुनेछ ।