लैङ्गिक हिंसा बिरुद्धको सचेतनामा तेजगंगा क्याम्पस

बेथान्चोक/तेजगंगा बहुमुखी क्याम्पस पनौतीको आयोजना र बेथानचोक गाउँपालिका वाड नम्बर १ को समन्वयमा एक दिने लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पस र समुदाय बिचको सम्बन्धलाई बिस्तार गर्ने र शैक्षिक एवं सामाजिक क्षेत्रका बिषयहरुमा सम्बन्धित स्थानहरुमा गएर सचेतना जगाउने उदेश्यका साथ क्याम्पसले उक्त कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीले बताईन् ।

पछिल्लो समयमा बढदै गएको लैङ्गिक बिभेदलाई हटाउन समुदायमा सचेतना र कानुनी पक्षको सवालमा मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले अभिमुखिकरण गराएका थिए ।

कानुनका विषयमा अधिबक्ता महेन्द्र थिङ्गले सहभागीहरुलाई जानकारी गराएका थिए । त्यसै गरी माईती नेपाल काभ्रे शाखा प्रमुख गायत्री गौतम, इन्सेक प्रतिनिधी सुमित्रा आचार्य लगाएतले सोहि कार्यक्रममा धारणा राखेका थिए ।

बेथान्चोक गाँउपालिका वडा नम्बर १ का अध्यक्ष मधुसुदन तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीले गरेकी थिईन ।

कार्यक्रममा सोहि क्षेत्रका जनसमुदायलाई महत्वपूर्ण जानकारी प्राप्त भएको अध्यक्ष तिमल्सिनाले बताए । तिमल्सिनाले उच्च शिक्षाको क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल तेजगगा बहुमुखी क्याम्पसलाई धन्यवाद प्रदान गरेका थिए ।

क्याम्पसले कलेजमा मात्रै नभई समुदायमा नै पुगि लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम गरेकोमा धन्यबाद दिदै आगामी दिनमा समेत थप कार्यक्रम ल्याउन क्याम्पसलाई तिमल्सिनाले आग्रह गरेका थिए ।

कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले यस्ता कार्यक्रमबाट पछिल्लो समयमा बढदै गएको लैङ्गिक बिभेद र यसबाट सिर्जित समस्या न्यूनीकरणमा सहयोग पुग्ने वताईन् ।

क्याम्पसले शिक्षा सँगै समुदायमा नै सचेतना अभिबृद्धि कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा थप कार्यक्रम ल्याउने वताईन् । कार्यक्रममा सहायक क्याम्पस प्रमुख मुक्ति नारायण काफ्लेले स्वागत मन्तब्य राखेका थिए भने सहायक क्याम्पस प्रमुख भिमसेन केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा मानबिकी संकायका प्रमुख भवनाथ वाग्ले, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक शिक्षिका, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, विद्यार्थी समेत गरि १ सय २५ जना भन्दा बढी ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।