आर्थिक वर्ष सकिन २ महिना १० दिन बाँकी हुँदा बजेट कटौती भए पछि सकसमा स्थानीय तह
काभ्रेका कुन स्थानीय तहमा कति काटियो संघिय बजेट ?

मोतीराम तिमल्सिना
धुलिखेल
संघीय सरकारले स्थानीय सरकारलाई विनियोजन गरेको चालु वर्षको समानिकरण अनुदानमा भारी कटौती गरेको छ । ७ सय ५३ वटै स्थानीय तहमा विनियोजन भएको अनुदानमा २५.८९ प्रतिशतले कटौती गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका १३ वटा पालिकामा विनियोजन गरेको अनुदानमा ३४ करोड ७९ लाख ६१ हजार ६ सय रुपैया कटौती भएको छ । यसका अलावा भ्याट बापतको बाँडफाँड रकम पनि कटौतीमा परेको छ भने युरोपियन युनियनले उपलब्ध गराएको पहिलो किस्ता बाहेकको अन्य सबै किस्ता रकम पनि कटौती भएको छ । मालपोतको राजश्व बाँडफाँडमा पनि स्थानीय तहको राजश्व कटौती भएको छ । श्रोत सुनिश्चित जस्तै हुने गरी छनौट गरिएका योजनाहरु आर्थिक वर्षको अन्त्यमा अन्योलमा पर्ने भएका छन् । अन्तिम तथा चौथो किस्ता निकासको क्रममा वाँकी रकमबाट २५.८९ प्रतिशत रकम कटौती गरिएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका १३ पालिकाहरुमा विनियोजन समानीकरण अनुदान मध्ये सबै भन्दा धेरै बनेपा नगरपालिकाको अनुदान कटौती भएको छ । बनेपाले प्राप्त गरेको कुल बजेट १५ करोड ९२ लाखबाट ४ करोड १२ लाख रुपैया कटौती भएको छ । धुलिखेलको रकम धेरै कटौती भएको छ । धुलिखेलले प्राप्त गरेको ११ करोड ७२ लाख रुपैया मध्ये ३ करोड ३ लाख रुपैया कटौती भएको छ । नगरपालिकाहरु मध्ये पनौतीले प्राप्त गरेको १३ करोड ८६ लाख मध्ये ३ करोड ५८ लाख कटौती भएको छ । पाँचखाल नगरपालिकाको १२ करोड २६ लाख मध्ये ३ करोड १७ लाख कटौतीमा परेको छ । नमोबुद्धको १० करोड ३८ लाख मध्ये २ करोड ६८ लाख रुपैया कटौती भएको छ । मण्डनदेउपुर नगरपालिकाको १० करोड ८५ लाख मध्ये २ करोड ८० लाख कटौतीमा परेको छ ।
खानीखोला गाउँपालिकाको ७ करोड ३३ लाख रुपैया मध्ये १ करोड ८९ लाख कटौतीमा परेको छ । चौरीदेउराली गाउँपालिकाको ८ करोड ८० लाखमा २ करोड २७ लाख कटौतीमा परेको छ । तेमाल गाउँपालिकाको ९ करोड ४ लाख रुपैयामा २ करोड ३४ लाख कटौतीमा परेको छ । बेथान्चोक गाउँपालिकाको ८ करोड रुपैयामा २ करोड कटौती भएको छ । भुम्लु गाउँपालिकाको ८ करोड १६ लाखमा २ करोड १२ लाख रुपैया कटौती भएको छ । महाभारत गाउँपालिकाको ७ करोड ९० लाखमा २ करोड ४ लाख रुपैया कटौतीमा परेको छ । त्यस्तै रोशी गाउँपालिकाको १० करोड १५ लाख रुपैयामा २ करोड ६२ लाख रुपैया कटौती भएको छ । काभ्रेका लागि १३ वटा पालिकाले प्राप्त गरेको १ अर्ब ३४ करोड ४० लाख रुपैयामा ९९ करोड ६० लाख ३८ हजार ४ सय रुपैया निकासा भएको छ ।
त्यस्तै जिल्लाका १३ वटै पालिकाका लागि युरोपियन युनियनद्वारा प्राप्त ३/३ लाख रुपैया अनुदानमा २ करोड २५ लाख कटौती भएको छ । पहिलो किस्ता बापतको ७५ हजार रुपैया खर्च भए पनि बाँकी रकम कटौतीमा परेको हो । शुरु भएका योजनाहरु पनि रकम कटौतीसँगै अलपत्र हुने भएका छन् । त्यस्तै पालिकामा समानिकरण जस्तै भ्याटको बाँडफाँडबाट प्राप्त हुने अनुदान पनि कटौतीमा परेको छ ।

