इच्छेश्वर मन्दिरमा भएको श्रीमद्भागवत सप्ताहको आय व्यय सार्वजनिक

पनौती । इच्छेश्वर महादेव मन्दिरमा भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । पनौती नगरपालिका वडा नम्बर ४ ज्यालाचिटी स्थित मन्दिर प्रांगणमा सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आय व्यय सार्वजनिक गरिएको हो ।
गत वैशाख ६ गतेदेखि १४ गतेसम्म इच्छेश्वर महादेव मन्दिरमा सप्ताह आयोजना गरिएको थियो । सप्ताहमा विभिन्न व्यक्ति, संघसंस्थाबाट २८ लाख २० हजार ७ सय ९२ रुपैयाँ संकलन भएको छ । तुलादान मार्फत भएको अन्नदानबाट १४ हजार १ सय रुपैयाँ प्राप्त भएको छ ।
सप्ताहबाट जम्मा २८ लाख ३४ हजार ८ सय ९२ रुपैयाँ प्राप्त भएको मुल आयोजक समतिका अध्यक्ष समुन्द्र थापाले जानकारी दिए । यस्तै १६ लाख २३ हजार ७ सय ५१ रुपैयाँ खर्च भएको कोषाध्यक्ष अनिल आचार्यले जानकारी दिएका छन । आय व्यय विवरण मन्दिरको सुचना पाटीमा पनि राखिएको छ ।

कार्यक्रममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मुल समारोहका संयोजक समुन्द्र थापा, मन्दिर व्यवस्थापन समिति अध्यक्ष दिपक थापा, पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवं सल्लाहकार समिति संयोजक दिपक दाहाल, पुर्व वडा अध्यक्ष बुद्धसिं थापा, विश्व हिन्दु महासंघ पनौती नगर अध्यक्ष मोहन कुमार बस्नेत, समाजसेवि रमेश थापा, सल्लाहकार सदस्य नेत्रबहादुर थापा, कान्छिमाया थापा लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
छोटो समयकाबीच आयोजना गरिएको सप्ताह उल्लासमय एवं सफल भएको निष्कर्ष निकालिएको छ । संकलन भएको रकमबाट मन्दिरका लागि आवश्यक जग्गा खरिद प्रकृया अघि बढाउने निर्णय गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य सुमित्रा थापाले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन स्थानीय डाकबहादुर कार्कीले गरेका थिए ।
