जापानकी विदेशमन्त्री आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री योको भ्रमणमा आउन लागेकी हुन्।

उनले दक्षिण एसियामा श्रीलंका र नेपालको भ्रमण गर्न लागेकी हुन् । विज्ञहरूले उनको भ्रमण परिवर्तित वैश्विक परिस्थितिमा महत्वपूर्ण भएको भन्दै सुझबुझपूर्ण तयारी गर्न सरकारलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्रीको भ्रमण सार्वजनिक गरेको छ ।

उनी माडागास्कार, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स र श्रीलंका हुँदै नेपाल आउने कार्यक्रम छ । जापानबाट हुने उच्चस्तरीय भ्रमणलाई नेपाल सरकारले महत्वसाथ तयारी गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।

विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछिन् भने उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने तय भएको छ ।

उनी आइतबार साँझ नै स्वदेश फर्किने कार्यक्रम छ । नेपाल र जापानबीच ६८ वर्षअघि १७ भदौ २०१३मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपालले जापानमा सन् १९६५ मा र जापानले नेपालमा सन् १९६७ मा दूतावास स्थापना गरेका थिए । जापानका लागि पूर्वराजदूत डा. मदनकुमार भट्टराईका अनुसार जापानबाट अहिलेसम्म तीनजना विदेशमन्त्रीले नेपाल भ्रमण गरिसकेका छन् भने कामिकावा चौथो हुन् ।

हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेको बताइएको छ।