सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने विषयमा हतार नगर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने विषयमा हतार नगर्न निर्देशन दिएका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालसँगको भेटमा ओलीले उक्त निर्देशन दिएका हुन् । उनीहरुबीच २ घण्टा बढी संवाद भएको थियो ।
हिजो राती ओली निवास बालकोटमा १० बजेदेखि राति करिब १२ बजे पछिसम्म उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । बझाङको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई विजयी बनाउने गरि अभियान चलाएकोमा रावललाई ओलीले धन्यवाद दिएका थिए ।
रावल बझाङ जिल्ला इन्चार्ज हुन् । अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश सरकारको अवस्था र विश्वासको मतका विषयमा बढी गम्भीर देखिएका थिए । उनले तत्काल विश्वासको मत दिने विषयमा हतार नगर्न पनि एमाले सांसदहरुलाई निर्देशन दिए ।
बझाङबाट निर्वाचन एमाले सांसद दमन भण्डारीको बुवाको निधन भएको १५ दिन पनि नभएको भन्दै त्यो भन्दा पहिले विश्वासको मतको विषयमा हतार गर्न आवश्यक नरहेको ओलीले बताएका थिए ।
अध्यक्ष ओलीले यस अघि प्रदेश संसदीय दलले लिएको अडान अनुसार नै विश्वासको मतको लागि हतार नगर्ने गरि सुझाव र निर्देशन दिएको रावलले बताए । अध्यक्षले ओली यस विषयमा प्रदेशमा छलफल र संवाद गर्न रावललाई नै भनेका छन् ।