धुलिखेलमा प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा नीजि क्षेत्र र सरोकारवालासँग अन्तरक्रिया

धुलिखेल/धुलिखेल नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरक्रिया भएका गतिविधीहरु, नमुना कार्य तथा आगामी योजनाका बारेमा नीजि क्षेत्र र सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुले नागरिकहरुलाई जति रोजगार उपलब्ध गराउन सकियो त्यति नै समृद्ध बनाउन सकिने बताउँदै धुलिखेले शुरु गरेका केहि प्रयत्न र प्रयासहरु नमुना रहेको बताए । ‘हामीले विभिन्न परिषद् मार्फत नागरिकहरुलाई सिप प्रदान गरिरहेका छौं । बेरोजगारहरुको सूची संकलन गरिरहेका छौं । सिप आवश्यक हुनेलाई सिप दिएर दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार हुन चाहनेहरुलाई आर्थिक सहयोग पनि गरिरहेका छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘जसका कारण गरिवी निवारणमा महत्वपूर्ण सफलता मिलेको छ । शुन्य गरिवी निवारणका लागि सिप सिकेकाहरुलाई दक्ष बनाउने, बेरोजगारको संख्या कम गर्दै जाने, सिमान्तकृत समुदाय, तल्लो वर्गका नागरिकहरुको जीवन स्तर उकास्ने गरी कार्य भईरहेको छ ।’
धुलिखेलमा संचालन भएका आयोजनाहरु, नयाँ परियोजनाहरुले रोजगार बृद्धी गरेको बताउँदै थप रोजगारका लागि स्थानीय स्तरमा रहेका नीजि क्षेत्रहरु सक्रिय हुन र नीजि क्षेत्रले संचालन गरेका उद्योग कलकारखाना मैत्री ऐन कानून निर्माण गर्न नगरपालिका तयार रहेको नगर प्रमुख ब्याञ्जुले बताए ।

प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने गरी गरिएका कार्यविधीहरुको पूर्ण कार्यान्वनका क्रममा आम नागरिकहरुले उठाएका तमाम विषयहरु समेट्न कठिनाई हुने बताए ।
अदक्ष कर्मचारीहरुका लागि तोकिएको मापदण्ड, उनिहरुले गर्ने काम र ज्यालाबाट अन्य कार्य गर्न तथा तोकिएको क्षेत्र भन्दा बाहिर जान असहज हुने उनले बताए । होटल ब्यवसायीहरु प्रेमकण्ठ माकजु, ज्योत्सना सैजु, ध्रुव शर्मा, मोहन गजुरेलले दक्ष जनशक्ति उत्पादनमा नगरपालिकाले ध्यान दिन अनुरोध गरे । अदक्ष कामदारलाई दक्ष बनायो अनि दक्ष भए लगत्तै विदेशीने क्रम बढेकाले त्यसलाई रोक्न पनि आवश्यक रहेको उनिहरुले बताए ।
सोहि कार्यक्रममा वडा अध्यक्ष बद्रिप्रसाद हुमागाई लगायतका वडा अध्यक्षहरु, धुलिखेल उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समकाजी चोच्छे, प्रभु बैकका किशोरकुमार घिमिरे, सामी कार्यक्रमका बसन्त कुँवर लगायतले सुझाव दिएका थिए ।

कार्यक्रम संयोजक सम्झना शर्मा नेपालले धुलिखेलले गरिरहेका काम, बेरोजगारहरुको सूचीमा दर्ता भएका ब्यक्तिहरुको विवरण तथा प्राप्त बजेट र खर्चको अवस्था, ७ सय ५३ वटा पालिकामा ३० वटा पालिकालाई नमुना बनाउन गरिएका अभ्यास तथा प्रयासका बारेमा जानकारी गराएकी थिईन् ।
