तेजगंगा क्याम्पस र सहयात्रा साकोसको समन्वयमा सहकारी सम्बन्धी अभिमुखीकरण

पनौतीमा सहकारी र वित्तीय अनुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पनौती–८, मल्पीमा अवस्थित तेजगंगा बहुमुखी क्याम्पसको आयोजना र प्रधान कार्यालय पनौती–६, गुराँसमार्गमा अवस्थित सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.को समन्वयमा सामजिक उत्तरदायित्व बहन गर्ने उदेश्यसहित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम सहकारीको मूल्य, मान्यता, बचत तथा अन्य कारोबारमा सेयर सदस्यको भुमिका र सोको लागि निभाउनु पर्ने दायित्व र जन्मदेखी मृत्युपर्यन्त आर्थिक क्रियाकलापको महत्व र बित्तिय अनुशासनमा आधारित क्रियाकलापमा केन्द्रित रहेको थियो ।

सहयात्रा सहकारीमा आवद्ध विभिन्न समिति÷उपसमितिका पदाधिकारी र सेयर सदस्यहरु तथा तेजगंगा बहुमुखी क्याम्पसका प्राध्यापक तथा अध्ययनरत बिद्यार्थीहरुको उपस्थितिमा संचालित सो कार्यक्रमका सहभागीहरुलाई बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) का तालिम÷कार्यक्रम अधिकृत नवराज घोरसैनेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीले स्वागत मन्तव्य राखेकी थिइन। ज्ञानबिकास पुस्तकालयको सभाहलमा सम्पन्न कार्यक्रममा क्याम्पस संचालकसमितीका उपाध्यक्ष राजाराम सैजुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहयात्रा सहकारीका अध्यक्ष गोबिन्द प्रसाद न्यौपानेले उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संचालन क्याम्पसका सहायक क्याम्पस प्रमुख भिमसेन केसीले गरेका थिए ।