प्रधानमन्त्री हुने लोभमा कमजोर रणनीति लिएको भन्दै दलभित्रै माधव नेपालको आलोचना

प्रधानमन्त्री हुने लोभमा कमजोर रणनीति लिएको भन्दै दलभित्रै माधव नेपालको आलोचना भएको छ । यो सँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बोली एकाएक फेरिएको छ ।

सत्तारूढ एमाले र माओवादीले सहमति कार्यान्वयन नगरेको भन्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका नेपालको बोली एकाएक फेरिएको हो । जसपा विभाजनपछिको घटनाक्रमलाई लिएर सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले दबाब दिएपछि अध्यक्ष नेपालले वर्तमान सत्ता समीकरणलाई नै निरन्तरता दिने निष्कर्ष सार्वजनिक गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका नेता नेपाल पछिल्लो समय निरन्तर संवादमा थिए । त्यतिमात्रै होइन आलोपालो तीनै जना प्रधानमन्त्री हुने गरी वैकल्पिक गठबन्धनमा बनाउने समझदारी भएको कांग्रेसका नेताहरूले बताएका छन् । तर, समझदारी कार्यान्वयन हुनुअघि नै जसपा विभाजन भएको मात्र छैन, अध्यक्ष यादव दलभित्रै अल्पमतमा परेपछि नयाँ गठबन्धनको योजना तत्कालका लागि भंग भएको छ ।

प्रधानमन्त्री हुने मनस्थितिमा रहेका नेपाल झसंग भएका छन् भने उनले कमजोर रणनीति लिएको भन्दै दलभित्रै आलोचना पनि भएको छ ।

सरकारमा आफ्ना मन्त्री पठाए पनि गठबन्धनप्रति नेपालले विश्वास जगाउन नसकेका संसदीय दलको बैठकमा सहभागी एक सांसदले बताए । नेपाल प्रधानमन्त्री बन्ने रहरमा यो गठबन्धन भत्काउन लागेको उनको आरोप छ । त्यसैले एमालेले सुदूरपश्चिममा एकीकृतलाई विश्वासको मत दिन अस्वीकार गरेको उनको भनाई थियो ।