रुसी सेनामा भर्ती भएका नेपालीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै

काठमाडौं / रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन् । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारलाई साथमा लिएर अभियानकी संयोजक कृतु भण्डारीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । अभियानले प्रधानमन्त्री प्रचण्डलाई रुसी सेनामा भर्ती भएका नेपालीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफ्ना १३ बुँदे मागपत्र बुझाएको छ ।

अभियानकी संयोजक भण्डारीका अनुसार हालसम्म रुसी सेनामा भर्ती भएका ६९१ जना नेपालीको विवरण संकलन गरिएको छ । अभियानले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “जसमध्ये ३९ जना मृतक, ४० जना मृत्यु भयो भनिएको तर पुष्टि हुन बाँकी, पाँचजना युक्रेनको कब्जामा रहेका, ११७ जना घाइते, २७२ जना सम्पर्कविहीन, १५ जना करार सम्झौता रद्द गरेका, ११ जना रुसी राहदानीका लागि आवेदन दिएका र ३१ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका र बाँकी व्यक्तिहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ ।”

नेपाल सरकारले भने हालसम्म अवैध रूपमा रुसी सेनामा भर्ती भएकामध्ये १९ जनाको मृत्यु भएको जनाउँदै आएको छ । योबाहेक मृत्यु भएको आशंकामा थप १५ जनाको डीएनए परिक्षण कार्य भइरहेको सरकारले बताउँदै आएको छ । सरकारले प्रस्तुत गर्ने तथ्यांक र अभियानले सार्वजनिक गरेको तथ्याङ्कमा धेरै भिन्नता देखिएको छ । “रुसी सेनामा कार्यरत रही फर्किएका नेपाली युवाहरूले १४ हजार ७०० नेपाली रहेको दाबी गरिरहँदा त्यहाँको अवस्था निकै भयावह रहेको अनुमान गर्न सकिन्छ । प्राप्त अपुष्ट सूचनाका आधारमा यो संख्या यतिमा सीमित छैन भन्ने देखाउँछ,” अभियानले ध्यानाकर्षण पत्रमा भनेको छ ।

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गर्नुपर्नेलगायतका माग राखी आमरण अनसन बसेका पीडितपरिवारले १७औं दिन गत आइतबार अनसन तोडेका थिए । त्यसपछि उनीहरूले आज ९मंगलबार० प्रधानमन्त्रीलाई भेटेका हुन् । उनीहरूले रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षाको पहलका लागि प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका छन् ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी थुप्रै नेपाली रुसी सेनामा भर्ती भएको दाबी अभिायानकी संयोजक भण्डारीको छ । “हामीसँग ह्वाट्सएप ग्रुपमा जोडिएका ४२१ जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति श्रव्यदृष्य सामग्रीहरु पठाउने गर्नुहुन्छ । ती सामग्रीहरू देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ,” ध्यानाकर्षण पत्रमा भनिएको छ ।