मातातीर्थ औंसीको अवसरमा चण्डेश्वरी साकोसले गर्यो ज्येष्ठ सदस्य सम्मान

बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाले मातातीर्थ औंसीको अवसरमा माता सम्मान गरेको छ ।
साकोसको बार्षिक कार्य योजना अन्तर्गत महिला बिकास उप–समितिको संयोजकत्वमा मातातीर्थ औंसीको अवसरमा ज्येष्ठ सदस्य(माता) सम्मान गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष नबिनभक्त बादेको अध्यक्षता रहेको थियो ।
कार्यक्रमको प्रमुख आतिथ्यता बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए । प्रमुख अतिथी शाक्यले आमाहरुको सम्मान गर्न पाउनु ठुलो अबसर भएको बताए । आमा बा भनेका हाम्रा जिउँदा देउता भएकाले हामिले सम्मान गर्नु पर्ने शाक्यको भनाई थियो ।
अहिले सबै ब्यस्त भएकाहरुले आफ्ना बाबु आमालाई बृद्धाश्रममा राख्ने चलन बढ्दै गएको भन्दै नगर प्रमुख शाक्यले आफ्ना बाबु आमालाई सम्मान गर्नु पर्ने बताए । यो उमेरमा आमा बुबालाई स्याहार गर्नु पर्नेमा, पछिल्लो समय सबै सन्ताहरु विदेशिन थालेकाले आमा बाबुहरु एक्लै पर्न जान थालेको शाक्यको भनाई थियो ।
कार्यक्रममा बनेपा वडा ८ का वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर, संस्थाका पदाधिकारी, सञ्चालक सदस्यलगाएतको उपस्थीत रहेको थियो । कार्यक्रममा संस्थामा आबद्ध ७५ बर्ष नाघेका ज्येष्ठ महिला सदस्यहरुलाई मातातीर्थ औंसीको उपलक्ष्यमा सम्मान गरिएको थियो ।
कार्यक्रममा १ सय २२ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । ज्येष्ठ सदस्यहरुलाई इलेक्ट्रिक जग तथा खाद्यान्न र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको छ ।
संस्थामा आवद्ध जेष्ठ महिला सदस्यहरु मध्येबाट उत्कृष्ट कारोबारको आधारमा संरक्षित पुँजी फिर्ता कोष बापत उच्चतम रकम पाउने ३ जना ज्येष्ठ आमाहरुलाई बिषेश सम्मान गरिएको थियो ।

साकोसले हरेक बर्ष माता तथा पिता सम्मान गर्दै आईरहेको छ । बनेपामा रहेको उक्त संस्थाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको छ । यस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को ३६ आँै स्थापना दिवसको अवसरमा नेपालभरी बाट नेफ्स्कुन सर्बोत्कृष्ट समेत साकोस छनौट भएको थियो । संस्थाको कुलपुँजी १ अर्ब ४५ करोड पुगेको संस्थाका अध्यक्ष नविन बादेले बताए । संस्थाले सामाजिक उत्वरदायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दे आएको उनले बताए ।