कानुन दिवसमा शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रम

धुलिखेल/सर्वाेच्च अदालतले मात्रै मनाउँदै आएको कानुन दिवस यो वर्ष देखि देशभरका अदालतमा मनाउन शुरु गरिएको छ । सर्वाेच्च अदालतले कानुन दिवसका अवसरमा देशभरका अदालतलाई विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन परिपत्र गरेको थियो ।

प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, जिल्ला कारागार कार्यालय प्रमुख परशुराम थापा, जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका राजिव न्यौपाने, काभ्रे बार इकाईका प्रतिनिधी राजकुमार गौतम, बैतनिक कानुन ब्यवसायी नारायणध्वज तामाङ तथा जिल्ला अदालतका विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीहरु, कानून ब्यवसायीहरु र सरोकारवालाहरुको सहभागितामा शुभकामना आदान प्रदान तथा कार्यालय परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको जिल्ला अदालत काभ्रेपलाञ्चोककी अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिईन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सबै नागरिकहरुले कानुनको पूर्ण पालना गर्न र कानुनका बारेमा साक्षरता गराउन आवश्यक रहेको बताए । ‘कानुन सबैलाई बराबरी हो भन्ने सन्देश दिन र कानुनको पूर्ण कार्यान्वनका लागि नागरिकहरुलाई कानुनी साक्षरता आवश्यक छ’–प्रमुख जिल्ला न्यायाधीश नेपालले भने–‘सबै नागरिकहरुले सहज रुपमा कानुनको उपयोग गर्ने वातावरण बनाउन आवश्यक छ ।’

प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले कानुन थाहा थिएन, कानुनका बारेमा जान्दिन भन्ने छुट कसैलाई पनि नभएकाले हरेक नागरिकहरुलाई कानुनका बारेमा जानकारी गराउँदै तल्लो वर्गका नागरिकहरु सम्मले कानुनको सहज प्रयोग गरी अधिकार र न्याय प्राप्ति गर्न प्रहरीले खेल्ने भूमिकालाई अझै प्रभावकारी बनाउन प्रयत्न गर्ने बताईन् ।

विद्यालय तह देखि नै कानुनका बारेमा ज्ञान उपलब्ध गराउने अभियानमा प्रहरीले लैङ्गिकता, अपराध, कानुनी ब्यवस्था तथा अधिकार र न्यायका बारेमा जानकारी गराईरहेको प्रहरी प्रमुख एसपीले बताईन् ।