अभिभावक र समुदायको मन जित्दै ‘शुभ चामुण्डा’

लक्ष्मण तिमल्सिना
नाला, बनेपा
बनेपा नगरपालिका वडा नम्बर ३ टुसालमा रहेको शुभ चामुण्डा माध्यमिक विद्यालयले अभिभावक र समुदायको मन जित्न थालेको छ । चालु शैक्षिक सत्रका लागि अभिभावकहरुले विद्यालयमा थप ५५ जना नयाँ विद्यार्थी भर्ना गरेका छन् ।

‘सामुदायिक विद्यालयहरुमा पनि अभिभावकहरुले चाहेजस्तो विद्यार्थीहरुले खोजेजस्तो शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ भन्ने विश्वास दिलाउन निरन्तर प्रयत्न गरिरहेका छौ’–विद्यालयका प्रधानाध्यापक ओमप्रसाद थपलियाले भने–‘गुणस्तरमा कमि हुन नदिन विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सिङ्गो विद्यालय परिवार कृयाशिल छ ।’

सुविधा सम्पन्न भौतिक पुर्वाधार, सुधारिदै गएको शैक्षिक गुणस्तर तथा विद्यार्थी केन्द्रित शिक्षा उपलब्ध गराएकाले शुभ चामुण्डा विद्यालय प्रति अभिभावकहरुको विश्वास बढिरहेको प्रधानाध्यापक थपलियाले बताए ।

२०८० सालको नगर स्तरीय कक्षा ८ को परीक्षामा शुभ चामुन्डा सामुदायिक विद्यालय तर्फ नगरमा प्रथम हुन सफल भएको छ । विद्यालयबाट सहभागि विद्यार्थीहरु मध्ये उच्चतम अंक ३.७६ जिपिए सहित ९५ प्रतिशत उतिर्ण हुन सफल भएका छन् ।

कक्षा १० सम्म पुर्ण अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, प्रजेक्टरको माध्यमबाट अध्यापन गराउँदै आएको छ । कक्षा ४ देखी १० सम्मका विद्यार्थीहरुको विषयगत कमजोरीको पहिचान गरी उपचारात्मक तथा अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक ओमप्रसाद थपलियाले बताए ।

विद्यार्थीहरुको सिकाई उपलब्धी स्तर बृद्धि भई शिक्षामा सुधार हुँदै गएको प्रधानाध्यापक थपलियाले बताए । विद्यालयमा शैक्षिक सत्र २०८१ बाट यातायातको सुविधा, बालमैत्री कृयाकलापमा आधारित शिक्षणमा जोड, विद्यालय ब्यबस्थापन समितिबाट नियमित अनुगमन, अभिभावक, शिक्षकहरुको सहयोगका कारण शैक्षिक गुणस्तरमा बृद्धि हुँदै गएको प्रधानाध्यापक थपलियाले बताए ।

मावि तहमा जम्मा तीन वटा मात्र दरबन्दीका बाबजुत विषयगत शिक्षकको अभावका बाबजुद विद्यालय परिवारको समुहगत सक्रियताका कारण विद्यालयले आवश्यक भौतिक र शैक्षिक गुणस्तर कायम गर्दै गएको वडा अध्यक्ष तथा विद्यालय ब्यस्थापन समितिका अध्यक्ष रमेश दाहालले बताए ।

विद्यालय ब्यबस्थापन समितिका सदस्य हरिचन्द्र श्रेष्ठ, गौतम श्रेष्ठ लगायतले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकास तथा गुणस्तर कायमका लागि अभिभावकहरुको साथ र सहयोग निरन्तर रहेको बताए । चालु शैक्षिक सत्र २०८१ मा २ सय ६० जना विद्यार्थीहरुले अध्ययन शुरु गरेका छन् ।