बनेपामा नगर प्रहरीलाई कुटपिट गर्ने ४ जना पक्राउ

बनेपामा नगर प्रहरीलाई कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बनेपा नगरपालिका वडा नम्बर ७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गको सडक खण्डमा फुटपाथ व्यापारी र बनेपा नगर प्रहरीबीच कुटपिट भएको थियो । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २६ का कृष्ण मानन्धर, ५० बर्षीय राममाया मानन्धर, बर्ष ४० की रोजिना मानन्धर र बनेपा नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ४० की खड्गमाया श्रेष्ठ रहेका छन । उनीहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरमा आज वैशाख २६ गते म्यादथप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यसअघि नेपाल प्रहरीकै सामुन्ने व्यवसायीबाट नगर प्रहरी कुटिँदा समेत प्रहरीले कसैलाई पनि नियन्त्रणमा नलिएको भन्दै प्रहरीको चर्को आलोचना भएको थियो ।

कुटपिटबाट नगर प्रहरी अञ्जना थापा र चालक किशोर केसी घाईते भएका छन् । नगर प्रहरीलाई कुटिरहेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाईरल भएको छ ।