आजको मौसम : काठमाडौँमा बिहानैदेखि हुँदैछ हल्का वर्षा

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ भने बागमतीमा काठमाडौँ उपत्यकासहित विभिन्न भू–भागमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।