अष्ट्रेलियामा अध्ययन गर्न विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको हो ।

शुक्रबार १० मे देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनुपर्छ । बितेको सात महिनामा यो दोस्रो वृद्धि हो । गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट बढाएर यसलाई २४ हजार ५०५ बनाइएको थियो ।

कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने सम्बन्धी यसअघिको व्यवस्थामा कडाइ गरिसकेको छ ।