कक्षा १२ को प्रश्नपत्र आउट गर्ने ४ जना उत्तरपुस्तिकासहित पक्राउ

कक्षा १२ को प्रश्नपत्र आउट गरेर हल गरिरहेका ४ जना उत्तरपुस्तिका सहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । वैशाख २६ गते बिहान चलेको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको आरोप छ ।
प्रश्नपत्र आउट गरी काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।