काभ्रेपलाञ्चोक जिल्लामा बितेका मेरा ती दिनहरु
म वि.सं. २०३१ सालदेखि वि.सं. २०४१ साल माघको पहिलो हप्तासम्मका लगभग १० वर्ष काभ्रेपलाञ्चोक जिल्लामा शैक्षिक एवं राजनीतिक हिसाबले जोडिएको छु । यो अवधिमा श्रीकृष्ण माध्यमिक विद्यालय, छत्रेबाँझ दाप्चा, श्रीखण्डपुर मा.वि., श्रीखण्डपुर, चण्डेश्वरी मा.वि. नाला, प्रकाश मा.वि. भुम्लुटारमा विज्ञान एवं गणित शिक्षकको रुपमा कार्यरत रहें । वि.सं. २०४१ सालमा प्रकाश मा.वि.बाट सरुवा भाई दाङ जिल्लाको बालमितेरी मा.वि., भोजपुर आफ्नो गृह जिल्लामा फर्कें ।
‘नारी जागृति संघ’ को स्थापनासँगै काभ्रेपलाञ्चोक जिल्लाका बनेपा, धुलिखेल, श्रीखण्डपुर, पनौती, नाला, खोपासी, कुशादेवी लगायतका स्थानमा यस गतिविधिको प्रभाव पर्न गयो । वि.सं. १९९३ मा चन्द्रकान्ता मल्लले काठमाडौंमा महिलाहरुले पनि पढ्न पाउने गरी विद्यालयहरुको स्थापना गरिनु पर्दछ भनी आवाज उठाएपछि त्यसलाई कार्यरुप दिन अखिल नेपाल महिला संघकी पूर्व अध्यक्ष कामक्षा देवी र बनेपाकै हाल नेकपा (एमाले)की नेतृ शिला कतिलाको सहोदर फूपु दिलहरी श्रेष्ठले गोप्य रुपमा बनेपामा नारी जागरणका लागि पठनपाठनका अतिरिक्त राणा शासनको विरोधमा गतिविधि संचालन गर्नुभयो । यही प्रयत्न र कृयाशीलताका कारण वि.सं. २००८ सालमा बनेपाको तीनधारामा अखिल नेपाल महिला संघको राष्ट्रिय अधिवेशन सम्पन्न भएको थियो ।
वि.सं. २००६ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि यस आन्दोलनलाई अघि बढाउन काठमाडौंका माक्र्सवादी चिन्तक एवं प्रगतिशील लेखक कृष्णदाश श्रेष्ठले श्रीखण्डपुर लगायतका ठाउँमा ‘युग सन्देश अध्ययन मण्डल’ गठन गरी काभ्रेमा कम्युनिष्ट गतिविधि अगाडि बढाएको पाइन्छ । लोकतान्त्रिक अभियानमा युवापुस्तालाई जागृत र संगठित गर्ने कार्यमा नेपाली कांग्रेस पार्टी र नेपाल कम्युनिष्ट पार्टीको अगुवाइमा प्रचारात्मक अभियान तिव्ररुपले अगाडि बढ्यो । सर्वश्री लक्ष्मणसुन्दर सैंजू, गणेशदाश उलक, शिवराज भैल, कृष्णचन्द्र कायस्थ, टिकाकृष्ण कायस्थ, पंकज चित्रकार, ठाकुरभक्त कर्माचार्य, रत्नकाजी श्रेष्ठ लगायतका वामपन्थी युवाहरुले भूमिगतरुपमा नै भएपनि कम्युनिष्ट विचार, सिद्धान्त, दर्शनलाई अङ्गीकार गरी सोलाई काभ्रे जिल्लामा फैल्याउन प्रयास गरेका थिए ।
वि.सं. २०१९ सालको नेकपाको तेस्रो अधिवेशन पश्चात नेतृत्वमा छाएको व्यक्तिगत गुटबन्दी र वैचारिक विवादले नेपाली कम्युनिष्ट आन्दोलन शिथिल र टुटफुट हुन पुग्यो । त्यसको प्रभाव अन्य जिल्लामा झैं काभ्रेपलाञ्चोक जिल्लामा पनि प¥यो । वि.सं. २०२१ सालमा राजा महेन्द्रको परामर्शमा पंचायती व्यवस्थाले देशव्यापी रुपमा भूमि सुधार कार्यक्रम लागू ग¥यो । उक्त कार्यक्रमले भूमिहीन किसानहरुको पक्षमा कुनै सकारात्मक योगदान नगरेकोले ठाकुरभक्त कर्माचार्य, लक्ष्मणसुन्दर सैंजू (पनौती), गणेशदाश उलक (खोपासी), शार्किराम प्रधान (श्रीखण्डपुर) लगायतको संयुक्त नेतृत्वमा पञ्चायती भूमिसुधार कार्यक्रमको विरोधमा खोपासी, नाला, बनेपा, श्रीखण्डपुर, पनौतीमा छिटपुटरुपमा नै भएपनि किसान आन्दोलन भएको थियो ।
वि.सं. २०२२/२३ सालतिर वामपन्थी बुद्धिजीवीहरुमा पुनः जागरण र संगठनको प्रयास शुरु भयो । केदारनाथ प्रधान, मोहन दुवाल, गोविन्दाल प्रधानाङ्ग, राजभाई प्रधान, जवाहरलाल पलाञ्चोके, दलबहादुर श्रेष्ठ, शिला कतिला, लक्ष्मणसुन्दर सैंजू, शिवबहादुर देउजा, गोविन्दनाथ उप्रेती, केदारनाथ उप्रेती लगायत थुप्रै सचेत वाम बुद्धिजीवीहरु सामाजिक एवं राजनैतिक गतिविधिमा संलग्न हुनुहुन्थ्यो । वि.सं. २०२६ सालको सुस्ता महेशपुर काण्डको विरुद्ध नेपालका अन्य भू–भागमा जस्तै काभ्रेपलाञ्चोकमा पनि आवाज उठेको थियो । सोहीवर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्ला मिलेर ‘प्रगतिशिल सिन्धु–काभ्रे साहित्य समाज’ को गठन गरे । यो समाजको स्थापनामा सिन्धुपाल्चोकका अमृतकुमार बोहरा र काभ्रे बनेपाका केदारनाथ प्रधानको सक्रियता उल्लेख्य थियो । सिन्धुपाल्चोकबाट जयराम शर्मा, शंकर नेपाल, इन्द्रलाल श्रेष्ठ, रमेशबहादुर श्रेष्ठ र काभ्रेपलाञ्चोक जिल्लाबाट मोहन दुवाल, राजभाई प्रधान, जवाहरलाल श्रेष्ठ, गोविन्दलाल प्रधानाङ्ग त्यस समाजमा आबद्ध हुनुहुन्थ्यो । यस समाजले प्रगतिशिल साहित्यमार्फत सर्वसाधरणलाई वामपन्थी आन्दोलनप्रति आकर्षित गर्ने काम गरेको थियो । स्व.केदारनाथ प्रधानको स्मरणमा मोतीदेवी प्रकाशनद्वारा छापिएको ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तकमा अमृतकुमार बोहराले यो तथ्य उल्लेख गर्नु भएको छ ।
वि.सं. २०३०/३१ पछि ‘कोडिनेशन केन्द्र’ (कोके) को गठनपश्चात अमृतकुमार बोहराको नेतृत्वमा सिन्धुपाल्चोकमा कम्युनिष्ट गतिविधिको शुरुवात भएपछि लक्ष्मणसुन्दर सैंजूमार्फत अमृतकुमार बोहरा र केदारनाथ प्रधानको सम्पर्क र सम्बन्ध घनिष्ट हुन पुग्यो । त्यसपछि केदारनाथ प्रधानको सक्रियतामा काभ्रेपलाञ्चोक जिल्लामा कोर्डिनेशन केन्द्रको विचार र दृष्टिकोण प्रचारप्रसार हुन थाल्यो । पार्टी भूमिगत भएको त्यो कालखण्डमा चौकोटका दलबहादुर श्रेष्ठ, केही समयपछि शिववहादुर देउजा लगायतकाहरु केदारनाथ प्रधानसँग जोडिदै राजनीतिक अभियानमा खट्न थाल्नु भयो । वि.सं. २०३३ सालको शुरुमा जनसांस्कृतिक कार्यक्रम पछि म केदारनाथ प्रधानसँग नजिक हुन पुगें । वि.सं. २०३३ कार्तिकमा विद्यालय छोडेर म एम.एस्सी. पढ्न कीर्तिपुरतिर लागेपछि इञ्जिनियरिङ क्याम्पस, पुल्चोकमा जुटेर टंक कार्की संयोजक, सहसंयोजक भीम न्यौपाने, सदस्यहरु ठाकुरचन्द्र श्रेष्ठ, गौरी प्रधान, बलराम समाल, दामोदर उपाध्याय, कोमल भट्टराई, श्याम तमोट, नन्द कन्दङ्वा, लक्ष्मी कार्की, विकास गौतम लगायतको बैठकले अनेरास्ववियु एकताको पाँचौंको तयारी समिति गठन गरेपछि म विद्यार्थी राजनीतिसँग जोडिन पुगें ।
केन्द्रमा नेकपा मालेको स्थापना भैसकेपछि वि.सं. २०३५ सालमा कमरेड अमृतकमुार बोहराको प्रमुख आतिथ्यतामा विष्णु प्रभात, केदारनाथ प्रधान, शिवबहादुर देउजा, विकास गौतम र दलबहादुर श्रेष्ठ समेतको सहभागितमा काभ्रे जिल्ला पार्टी सक्रिय दल गठन भयो । यो नै नेकपा माले पार्टी कमिटी निर्माणको ऐतिहासिक शुरुवात थियो । त्यसबेला केही समयको परीक्षणपछि मात्र गठित कमिटीलाई पूर्ण कमिटीको मान्यता दिने प्रचलन थियो । स्थानीय तहमा रहेका विभिन्न सम्पर्क संगठन र व्यक्तिलाई जिल्लासँग जोडी पार्टीलाई जिल्लाव्यापी बनाउन यो कमिटीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
एम.एस्सी.को पढाइपछि म वि.सं. २०३६ साल कार्तिकमा काठमाडौंबाट पुनः काभ्रेपलाञ्चोक फर्केपछि अनेरास्ववियु (एकताको पाचौं) अध्यक्ष अच्युत मैनाली, उपाध्यक्ष, किशोर थापा, सचिव पूर्ण श्रेष्ठ, दीपक खरेल, दिनेश प्रधानसहितकोे तयारी समितिको आयोजनामा चण्डेश्वरी मा.वि., नालामा अखिलको प्रथम जिल्ला अधिवेशन भयो । उक्त अधिवेशनमा म प्रमुख अतिथिको भूमिका रहें । उक्त अधिवेशनले नालाका भीमकाजी श्रेष्ठ, अध्यक्ष, डेडीथुम्का मण्डनका विद्यार्थी केदार नेपाल सचिव, अच्युत मैनाली (कानपुर मा.वि.), सदस्य लगायतको पदाधिकारी र सदस्यहरु रहेको कमिटी गठन ग¥यो । उक्त अधिवेशन आयोजनामा चण्डेश्वरी मा.वि.का छात्र पूर्ण श्रेष्ठ र त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत बनेपाका प्रकाशबहादुर कायस्थको सहयोग अविष्मरणीय थियो । अनेरास्ववियुको दोश्रो जिल्ला अधिवेशन श्रीखण्डपुर मा.वि.,श्रीखण्डपुरमा भएको थियो । उक्त अधिवेशनको प्रमुख अतिथि भीम रावल हुनुहुन्थ्यो । अधिवेशनले किशोर थापा अध्यक्ष, वीरेन्द्र श्रेष्ठ उपाध्यक्ष, सहदेव थापा सचिव र सदस्यहरुमा श्याम भुजु, उद्धव हुमागाईं, सुरेन्द्र श्रेष्ठ लगायत रहेको जिल्ला कमिटी गठन गरेको थियो ।
पञ्चायती व्यवस्थाप्रति जन आक्रोस बढ्दै थिए । राजनैतिक परिवर्तनमा दलहरु माथिको प्रतिबन्ध फुकुवाको आवाज चारैतिर उठ्न थाल्यो । यहि अवधिमा अनेरास्ववियु जिल्ला कमिटीले डेडीथुम्का मा.वि., मण्डनमा वृहत भेलाको आयोजना ग¥यो । त्यहाँ प्रधानाध्यापकमा भानुभक्त थपलिया हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको सम्पर्कमा समेत हुनुहुन्थ्यो । उक्त भेलामा विद्यार्थी लगायत पार्टीका कार्यकर्ता र शुभचिन्तक समेतको वृहत उपस्थिति थियो । प्रमुख अतिथि भीम न्यौपाने हुनुहुन्थ्यो । वि.सं. २०३५÷३६ को विद्यार्थी आन्दोलनसँगै शिक्षकहरुको पेसागत माग पनि चर्कदै गएको थियो । बद्रीप्रसाद खतिवडाको नेतृत्वमा भुटनदेवी मा.वि., हेटौंडामा राष्ट्रिय भेला आयोजनासँगै काभ्रे जिल्लामा पनि हामीहरुले आन्दोलनको उठान शुरु गरेका थियौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्ला अधिवेशन आजाद मा.वि., बनेपामा सम्पन्न भएको थियो । प्रजातान्त्रिक प्यानल र संयुक्त वाम प्यानलको छुट्टछुट्टै उम्मेदवारहरु हुनुहुन्थ्यो । संयुक्त वामपन्थी प्यानलमा अध्यक्ष मोहन दुवाल, उपाध्यक्ष गगनप्रसाद दाहाल, सचिव जयन्द्र प्रधान र सदस्यहरुमा विकास गौतम, विश्वनाथ ताम्राकार, कमानसिंह लामा, गणेशबहादुर श्रेष्ठ लगायत उम्मेदवार हुनुहुन्थ्यो भने प्रजातान्त्रिक प्यानलमा अध्यक्ष भरतराज श्रेष्ठ सहितको उम्मेदवारी दिए पनि संयुक्त प्यानलले सानदार रुपमा विजय हासिल गरेको थियो भने केन्द्रीय प्रतिनिधिमा शिवबहादुर देउजा निर्वाचित हुनुभएको थियो ।
वि.सं. २०३७ साल चैत्र १४ गते अनेरास्ववियु (एकताको पाचौं) को केन्द्रीय कमिटीको आह्वानमा केही मागहरु राखी नेपालको राजनीतिक इतिहासमा पहिलोपटक नेपाल बन्दको आह्वान गरेको थियो । काभ्रेपलाञ्चोक जिल्लामा पनि बन्द कार्यक्रमलाई सफल बनाउन जिल्ला पार्टी कमिटीले मलाई बनेपा क्षेत्र, माधवप्रसाद अधिकारीलाई पनौती क्षेत्र र शिबहादुर देउजालाई पलाञ्चोक क्षेत्रमा बन्द सफल बनाउने कार्यक्रमको अगुवाइको जिम्मा दिएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा बन्द कार्यक्रम भव्यरुपमा सफल भएको थियो ।
वि.सं. २०३७ सालमा रुसी सर्वहारा श्रमजीवी वर्गका अग्रणी नेता भलाद्मीर इल्यिच लेनिनको ११० औं जन्मदिनको राती वि.सं. २०३५ सालमा जिल्ला संगठनको रुपमा गठित नेकपा (माले) को पार्टी सक्रिय दललाई विधिवतरुपमा जिल्ला पार्टी संगठन कमिटीमा पुनर्गठन गरियो । विष्णु ‘प्रभात’ सचिव छोडेर जानु भएकोले कमरेड केशवप्रसाद बडाल हाम्रो कमिटीको सचिवको रुपमा आउनु भयो । वि.सं. २०३७ सालकै सेरोफेरोमा केदारनाथ प्रधानको अगुवाइमा बनेपामा काभ्रे क्याम्पस खोल्ने पहल भयो । क्याम्पसले स्वीकृति प्राप्त गरेपछि श्री प्रधानकै अनुरोधमा लेखनाथ गुरागाईं, गोपालचन्द्र पोख्ररेल काठमाडौंबाट अध्यापनको लागि बनेपा धाउन थाल्नु भयो । क्याम्पसको प्रभावकारी संचालनमा उहाँहरुको निकै ठूलो सहयोग रह्यो ।
वि.सं. २०३८ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको आव्हानमा १०४ दिने लामो हड्ताल भयो । काभ्रेमा ने.रा.शि.सं.को आमभेलाको कार्यक्रम सकेर काठमाडौ नयाँ सडकको पिपलबोटमा अनसन बसेका शिक्षकहरुलाई सघाउन जिल्ला अध्यक्ष मोहन दुवाल र म नयाँ सडक पुग्दा अनसनरत शिक्षकहरुसहित म पनि पक्राउ परें । दुई दिन जति हनुमानढोकाको क्रुर यातनासहितको प्रहरी हिरासतपछि हामीलाइ केही महिना डिल्लीबजारको सदरखोरमा नजरबन्दमा राखियो ।
थुनामुक्त भएर फर्केपछि पनौतीमा भएको शिक्षक संघर्ष समितिको बैठकले आन्दोलनलाई अझ सशक्त पार्नका लागि विभिन्न क्षेत्रमा शिक्षकहरुलाई खटाउने निर्णय ग¥यो । म र शिवबहादुर देउजा काभ्रेको पूर्वतर्फ, कमानसिंह लामा, माधवप्रसाद अधिकारी, विश्वबहादुर खड्का ढुंखर्कतर्फ खटिने भइयो । आन्दोलन सशक्त बनाउने काममा खटिने क्रममा विश्वबहादुर खड्का दिवङ्गत हुनुभयो । हामी अत्यन्त दुःखित भयौं । नेराशिसंको केन्द्रीय नेतृत्वसँग सहिदको सम्मान र प्रतिशिक्षक रु. १।– देशव्यापी रुपमा उठाई विश्वबहादुर खड्काको परिवारलाई सहयोग गर्ने निर्णय गरी केन्द्रमा सिफारिस गरियो । केन्द्रले हाम्रो मागलाई संबोधन ग¥यो । केही रकम संकलन भयो र परिवारलाई हस्तान्तरण गरियो भने शिक्षक आन्दोलनको पहिलो सहिदको मान्यता शिक्षक विश्वबहादुर खड्काले प्राप्त गर्नुभयो । यो सन्दर्भ लेख्दै गर्दा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र काभ्रेका प्रगतिशील शिक्षकहरुले उहाँलाई स्मरण गरिरहेका होलान् भन्ने विश्वास लिएको छु ।
तत्कालीन जिल्ला सभापति रामचन्द्र अधिकारी, माननीय गोविन्दनाथ उप्रेती, जि.शि.अ. को समेत सहमतिमा मलाई चण्डेश्वरी मा.वि. नालाबाट भर्खर स्तरोन्नति भएको भुम्लुको प्रकाश मा.वि.मा प्रधानाध्यापकमा सरुवा गरियो । स्थानीयको साथ सहयोगमा विद्यार्थीहरुको पठन पाठनमा क्रमिक सुधार भयो । यस कार्यमा सहकर्मी कृष्णा मैनाली गौतम, झुमा मैनाली, प्रकाश कायस्थ, विजय अर्याल लगायतका सर म्याडमहरुको ठूलो साथ, सहयोग रह्यो । अहिले प्रकाश क्याम्पस र विद्यालय दुवै सफलतापूर्वक सञ्चालनमा रहेको खबरले हर्ष लाग्छ ।
म भुम्लुमा अध्यापनरत रहँदा भगवती माध्यमिक विद्यालय, पलाञ्चोकमा अनेरास्ववियुको तेश्रो जिल्ला अधिवेशन भयो । उक्त अधिवेशनले अध्यक्ष भीमसेन बस्नेत, उपाध्यक्ष विदुर सापकोटा, सचिव रामहरि सुवेदी, कोषाध्यक्ष चण्डेश्वरी प्रधान लगायतको सदस्यहरु सहितको जिल्ला कमिटी निर्विरोधतवरले निर्वाचित गरेको थियो । काभ्रेका बाम बुद्धिजीवीहरुलाई संगठित गर्ने उद्देश्यले केदारनाथ प्रधान, गोविन्दलाल प्रधानाङ्ग, वीरबहादुर थापा, शक्तिराज बस्नेत, इन्द्रबहादुर श्रेष्ठ, लेखनाथ गुरागाईं, गोपालचन्द्र पोखरेल, माधवप्रसाद अधिकारी लगायतको बुद्धिजीवी मञ्च पनि गठन भएको थियो । पछि यसलाई पुनर्गठन गरी बुद्धिजीवी परिचालन कमिटीमा रुपान्तरण गर्दै पलाञ्चोकबासी बोधराज त्रिपाठी लगायतलाई थप गरियो । यही कमिटीले नै पछि नेपाल बुजिजीवी परिषद् गठनको लागि आधारभूमि तयार पा¥यो । लम्बोदर कायस्थको ‘बनेपा बुक डिपो’ बाट बिक्री वितरण हुने माक्र्सवादी पुस्तकहरु र जनपक्षीय पत्रपत्रिकाहरुले माक्र्सवाद–लेनिनवाद–माओविचारधारा लगायत विश्व कम्युनिष्ट आन्दोलनको आरोहवारोहलाई जान्न बुझ्न निक्कै सहयोग पु¥याएका थिए । पार्टीको योजनामा अनेरास्ववियु, संकल्प गीति कार्यक्रम र शिक्षक आन्दोलनले काभ्रेमा कम्युनिष्ट आन्दोलनको झ्यांगिने अनुकूल वातावरण तयार गर्न सहयोग पु¥याएका थिए । मैले काभ्रे छाडेको एकदशक पछि वि.सं. २०५१ सालमा काभ्रेपलाञ्चोक जिल्लाको बौद्धिक, सामाजिक, राजनीतिक, अग्रणी व्यक्तित्व एवं पार्टी कामका मेरो सहयोद्धा एवं नेकपा एमालेको होनाहार सम्पत्ति केदारनाथ प्रधान अर्वुद्ध रोगका कारण दिवंगत हुनुभएको खबरले निकै भावविव्हल बनायो । यो लेख लेख्दा क. प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको भौतिक शरीर हामीबीच नभए पनि काभ्रेको लागि उहाँले पु¥याउनु योगदानलाई काभ्रेपलाञ्चोकका जनपक्षीय व्यक्तित्वहरुले उच्च सम्मानकासाथ स्मरण गरिरहने छन् भन्ने विश्वास लिएको छु ।
(काभ्रेमा शिक्षक एवं राजनीतिक कर्मीका रुपमा कार्यरत गौतम हाल नेपाल बुद्धिजीवी परिषद्, दाङ जिल्ला कमिटीको अध्यक्ष हुनुहुन्छ । यो लेख काभ्रे प्रज्ञामा प्रकाशित भएको छ ।)