जापानको सरोमा सिटी र धुलिखेल नगरपालिका बीच सीप र प्रविधी आदान प्रदान गर्ने सम्वन्धी सहमति

मोतीराम तिमल्सिना
धुलिखेल

जापान स्थित सरोमा सिटी, होक्काईडोका प्रमुख हारुटोमो टोकेडाको टोली धुलिखेल नगरपालिका आएको छ । धुलिखेल नगरपालिका र सरोमा सिटी बीच विभिन्न कार्य गर्ने गरी समझदारी पत्रमा दुई नगरका प्रमुखहरुले हस्ताक्षर समेत गरेका छन् ।

समझदारी पत्रमा हस्ताक्षर पछि संक्षिप्त मन्तब्य राख्दै सरोमा सिटीका प्रमुख हारुटोमो टोकेडाले जापानमा १५ वर्ष भन्दा कम उमेर समुहका नागरिकहरु १० प्रतिशत र ६५ वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुको संख्या ४० प्रतिशत रहेकाले मुलुकका लागि आवश्यक पर्ने युवा जनशक्ति कम हुँदै गएको बताए । तर नेपालमा युवाहरु धेरै युवाहरु रोजगार हुने क्षेत्र थोरै भएकाले दुई देशका दुई नगरको उल्टो तथ्याङ्कलाई सहि रुपले प्रयोग गर्ने गरी आवश्यक पर्ने युवा जनशक्ति र रोजगारका क्षेत्रमा कार्य गर्न सरोमा सिटी तयार भएको प्रमुख हारुटोमोले बताए । ‘दुई देशका दुई नगर एक आपसमा मिलेर कार्य गर्न तयार छौ’–नगर प्रमुख हारुटोमो टोकेडाले भने–‘दुबै शहर मिलेर हातेमालो सहित काम गर्ने र विश्वभर शान्ति कायम गर्ने अभियानमा सक्रिय छौं ।’

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जापानको प्रविधी र सिपलाई धुलिखेलमा प्रयोग गर्ने गरी कार्य गर्न तयार रहेको बताए । जापान स्थित सरोमा सिटीका प्रमुख हारुटोमोलाई स्वागत गर्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल र उक्त सिटी बीचको समभदारीले दुबै नगरका नगरबासीहरुलाई फाईदा पुग्ने विश्वास ब्यक्त गरे । धुलिखेलबाट अहिले केहि युवाहरुलाई जापान पठाईएको छ । जापानमा रहँदा उनिहरुले सिक्ने सिप र प्रविधी नेपाल आएर ब्यवहारत लागु गर्दै आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा योगदान पुग्ने नगर प्रमुख ब्याञ्जुले विश्वास ब्यक्त गरे । धुलिखेलले गरेका असल अभ्यासहरु, धुलिखेलले लिएका लक्ष्यका साथै दिगो विकासका लक्ष्यहरुमा भएको प्रगतिका बारेमा जानकारी गराउँदै जापानबाट सिक्नु पर्ने विषयलाई कार्यान्वयनमा लैजाने प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले बताए ।

सरोमा सिटि, होक्काईडो, जापानका प्रमुख हारुटोमो टाकेडाको टोलीमा सोहि नगरका कृषि तथा सहकारी विभागीय प्रमुख कुसिवे फुमिहारु, टप फार्मका अध्यक्ष इनोई नोबोरु, उपाध्यक्ष इनोई काजुकी, राईनोकिनो कम्पनी जापानका अध्यक्ष आकानुमा मसाको लगायतको सहभागिता रहेको छ । उक्त टोलीलाई नगर प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभागिय प्रमुखहरु, लव ग्रिन नेपालका अध्यक्ष अमिरा दली, प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद ज्ञवाली लगायतको टिमले स्वागत गरेको थियो ।

उक्त टोलीले धुलिखेल नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । साथै नगरपालिकामा संचालन भईरहेको जापानिज भाषाको कक्षा अवलोकन गरेको छ । त्यस्तै धुलिखेलमा रहेको नेपालकै नमुना अस्पताल धुलिखेल अस्पतालको अवलोकन गरेको छ भने धुलिखेलको पुरानो शहरको अवलोकन गरेको छ । साँझ सोहि टोलीलाई नेपाली कला र संस्कृति सहितको सांस्कृतिक कार्यक्रम मार्फत धुलिखेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा दुई नगरका प्रमुखहरुद्वारा संयुक्त रुपमा बृक्षारोपण गरिएको छ ।