धुलिखेल अस्पतालले मनायो अन्तर्राष्ट्रिय नर्स दिवस

धुलिखेल/अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारी धुलिखेल अस्पतालको नर्सिङ्ग विभागले विविध कार्यक्रम आयोजना गरेको छ । उत्कृष्ट नर्सहरुलाई सम्मान गर्दै नर्स दिवसको महत्व, आवश्यकता र नर्सहरुले विरामीको सेवामा पु¥याएको योगदानका बारेमा चर्चा गरिएको थियो ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, अस्पतालका प्रशासकिय निर्देशक डा.विराजमान कर्माचार्य, स्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागीश्री श्रेष्ठ, नर्सिङ्ग कार्यक्रम निर्देशक प्रा.डा.कुन्तादेवी पुनः, नर्सहरु सरिस्मा रञ्जितकार र रोशनी श्रेष्ठ लगायतले धुलिखेल अस्पतालमा नर्सहरुले पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक रामकण्ठ माकजुले अस्पताल शुरुवाती चरणको स्मरण गर्दै नर्सहरुले खेलेको भूमिकाको प्रशंशा गरे । ‘त्यतिबेलाको समयमा नर्सहरुको संख्या थोरै थियो । अस्पतालमा विरामी उपचार गर्न आउँदा केहिको अस्पतालमा नै निधन हुन्थ्यो ।
अझ विशेषगरी सुत्केरी भएका महिलाहरुको निधन भएर बच्चा मात्रै बाँकी रहँदा हाम्रो अस्पतालका नर्सहरु पनि सुत्केरी भएर भर्ना भएका थिए ।
त्यतिबेला उक्त बच्चा बचाउन ति नर्सहरुले आफ्नो र अर्काेको बच्चा नभनी आमाको ममता प्रदान गरेका क्षणहरु अविश्मरणीय छन्’–डा.रामकण्ठ माकजुले भने–‘विरामीहरुको रोग निको पार्ने सहयोगी र नजिकको साथी भनेकै नर्सहरु हुन् । नर्सहरुले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने गरी अस्पतालले वातावरण निर्माण गरिरहेको छ ।’

प्रशासकिय निर्देशक विराजमान कर्माचार्यले विरामीको हेरचाहको मुख्य पिल्लर नै नर्स भएको बताए । ‘नर्सहरु विरामी हेरचाहको मुख्य पिल्लर हुन्’–उनले भने–‘अस्पतालको सेवालाई प्रभावकारी बनाउन अस्पतालले नर्सहरुलाई उच्च प्राथमिकतामा राखेको छ ।’
नर्सहरुले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सकियो भने अस्पतालमा आउने आधा गुनासो कम हुने बताउँदै डा. विराजमान कर्माचार्यले हेरचाह उच्च बनाउँदा अनुसन्धान, गुणस्तर, शिक्षा विस्तार र गुणस्तरीय सेवालाई प्रभावकारी बनाउन सकिने बताए ।
धुलिखेल अस्पतालले गुणस्तरसँगै सहज सेवा प्रदान गर्ने उनले बताए । कार्यक्रममा अस्पतालका कोषाध्यक्ष दिर्घराज बरुण श्रेष्ठ, बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजँु, विभागिय प्रमुखहरु डा. राम गुरुङ, डा.दिपक श्रेष्ठ, डा.सानुकृष्ण श्रेष्ठ, सुवासना श्रेष्ठ, सुलोचना माकजु श्रेष्ठ लगायत अस्पतालको विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

