अनलाइन सट्टेबाजीमा कारोबार गरेको आरोपमा मण्डनदेउपुरका अनिल ढुंगाना पक्राउ

अनलाइन सट्टेबाजीमा कारोबार गरेको आरोपमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना पक्राउ परेका छन । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ स्थायी ठेगाना भएका ढुंगाना हाल भक्तपुरको सुर्यविनायकमा बस्दै आएका थिए ।
अनलाइन सट्टेबाजी माध्यम वन एक्स वेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका हुन । प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराराईले बताए ।
उनका अनुसार, बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको भेटिएको छ । कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर ढुंगानालाई सार्वजनिक गरेको थियो ।