कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन ।

कार्कीको पक्षमा ५७ मत परेको छ । नेपाली कांग्रेसले बैठक बहिष्कार गरेकाले विपक्षमा मत परेनन् । आजको बैठकमा ६२ जना सांसद उपस्थित भएकामा राप्रपाका सांसद तटस्थ बसे ।

मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल विश्वासको मत लिन नहुने भन्दै कांग्रेसले आजको बैठक बहिष्कार गरेको हो । कार्कीविरुद्धको मुद्दामा जेठ ७ गते सर्वोच्चमा पेसी तोकिएको छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् ।

सोमबार प्रदेशसभामा विश्वासको मत लिएपछि उनले पत्रकारहरुसँग कुराकानी गर्दै ढिलोमा यो हप्ताभित्र सरकार विस्तार गरिसक्ने बताए । सरकारमा तत्काल एमाले र माओवादी केन्द्रमात्र सामेल हुने कार्कीले बताए ।