सिराहामा बम पड्काएर लुटपाट

सिराहाको लहानमा मध्यराति बम पड्काएर चार घरमा लुटपाट भएको छ।

सोमबार राति १२ बजेतिर लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर चार घरमा लुटपाट गरेका सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए।

चार घरबाट पाँच लाख रुपैयाँ लुटपाट भएको छ। घटनास्थलमा पड्किएको सुतली बम र एउटा नपड्किएको बुलेटको गोली प्रहरीले बरामद गरेको छ।

स्थानीय राजदेव यादव, अजय कुमार यादव, राम अवतार ठाकुर र निरञ्जन यादवको घरमा लुटपाट भएको हो।

लुटेरा समूहले नगद र सुनचाँदीका गरगरहना लुटेर लगेका पीडितले बताएका छन्। यस्तै बमको छर्रा लागेर ५ जना घाइते भएका छन्।