धुलिखेल–३ मा सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर ३ ले सामुदायिक विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ । वडा कार्यालयले चालु शैक्षिक शत्रको वैशाखमा मात्रै सामुदायिक विद्यालयमा नयाँ भर्ना भएका ५१ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिसकिएको वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने योजना अनुरुप विद्यालयको गुणस्तर सुधारका लागि योजनासहित काम गरिरहेको उनको भनाई छ । वडा अध्यक्ष आचार्यले सोही अभियान अन्तर्गत छात्र÷छात्रालाई पाइन्ट, सर्ट, फ्रक वितरण गरिएको बताए । यसअघि पनि झोला, स्टेशनरी सामाग्री लगायत शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
धुलिखेल नगरपालिका वडा नम्वर ३ स्थित पञ्चकन्या आधारभुत विद्यालय वडाकै एकमात्र सामुदायिक विद्यालय हो । बन्द हुन लागेको उक्त विद्यालयमा अहिले विद्यार्थी भरिभराउ भएका छन । केहि वर्ष अघि ५० भन्दा कम विद्यार्थी भएको उक्त विद्यालयमा अहिले २ सय १० जना विद्यार्थी भर्ना भएका छन ।

विद्यार्थीहरुका लागि कक्षाकोठा अपुग भएको, भएका भवन पुराना भएका कारण अहिले भवन निर्माण कार्य जारी छ । विद्यालय निर्माण सम्पन्न भएपछि विद्यार्थी संख्या अझै बढ्ने विद्यालयको अनुमान छ ।
वडा अध्यक्ष आचार्यले वडा क्षेत्रका नागरिकहरुलाई सहज र सुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले पाँच दशक अघि स्थापना भएको विद्यालयले प्रदान गर्ने गुणस्तरलाई अझै बढावा दिन शिक्षक, विद्यार्थी, समुदाय, अभिभावक र जनप्रतिनिधिहरु सक्रिय हुनु पर्नेमा जोड दिएका छन ।

शिक्षा, स्वास्थ्य र विकासका अन्य पूर्वाधारहरुमा कमी हुन नदिन निरन्तर सक्रिय रहेको उनको भनाई छ । विद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईले अंग्रेजी माध्यमबाट नैतिक, ब्यवहारीक शिक्षा प्रदान गरिरहेको बताए ।
वडा कार्यालयले शिक्षासँग सँगै पुर्वाधार निर्माण र दिगो विकासमा जोड दिएको छ । मिराबेल चोकदेखि चंखुबेसीहुँदै नयाँवस्तीसम्म १ किलोमिटर उकालो बाटोमा व्यवस्थित पक्की सिँढी निर्माण गरिएको छ । यस्तै वडाका अन्य क्षेत्रमा गोरेटो बाटो व्यवस्थि तगर्दै १५ सय सिँढी निर्माण सम्पन्न भएको वडा अधयक्ष आचार्यले जानकारी दिए ।
धार्मिक एवं सास्कृतिक सम्पदा संरक्षणका लागि मठमन्दिर, गुम्बा निर्माण तथा मर्मत कार्य भइरहेको छ । वडा कार्यालयबाट प्रवाह हुने सेवालाई समेत पारदर्शी, सहज र प्रभावकारी बनाउन निरन्तर कार्य भइरहेको वडा अध्यक्ष आचार्यले बताएका छन ।