कुप्रथा विरुद्धको सांस्कृतिक विद्रोह : ईहि संस्कार

बनेपा/ परम्परागत संस्कारलाई निरन्तरता दिनको लागि  वाँख्यो दाफा भजन खलः बनेपाको आयोजनामा सामुहिक ईहि कार्यक्रम सम्पन्न गरेको छ ।
बनेपाको जापाली गुठी घरमा सम्पन्न भएको ईहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरु सहभागी रहेको वा“ख्यो दाफा भजन खलःका विश्वराम मानन्धरले बताए । मानन्धरले प्रत्येक  तीन/तीन वर्षमा वालकालिकाहरुको ईहि(वेल बिबाह) गर्दे आएको मानन्धरले बताए । गत वैशाख २७ र २८ गते भएको दुईदिने कार्यक्रम अक्षय तृतीयाको दिन सम्पन्न भएको थियो । स्थानिय भाषामा ‘ई’ को अर्थ समय हुन्छ र ‘हि’ भनेको रगत हो । त्यसैले बालिकाको रजश्वला हुनु अगावै गरिने संस्कार नै ईहि हो । ईहि कार्यक्रममा सहभागी हुने बालिकाले दिनभरी ब्रत बसेर पूजाविधि बमोजिम कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् ।

नेवार समुदायभित्र रजश्वला हुनु अगाडि ईहि गराउने प्रचलन रहि आएको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ ।

बालिकाको आमा र बुबा अनिवार्य सहभागी भएर परम्परागत मान्यता बमोजिमका पूजा पाठ गर्दछन् । कार्यक्रम अवधिमा महिलाले गृहस्थी जीवनमा गर्नुपर्ने विभिन्न कामहरु समेत सिकाइन्छ । घर सफा गर्नको लागि कुचो लगाउने, खाना पकाउनको लागि सिलौटोमा मसला पिँध्नेदेखि अन्य घरायसी विधिहरु सिकाइन्छ । श्रीमानको मृत्यु पश्चात श्रीमती पनि अनिवार्य सती जानुपर्ने कुप्रथालाई उन्मुलन गराउनको लागि सांस्कृतिक विद्रोहको रुपमा ईहि संस्कार सुरु गरिएको अग्रजहरुले बताउदै आएका विश्वराम मानन्धरले बताए ।

त्यस्तै, तत्कालीन नेपाल मण्डलमा मुसलमानहरुले आक्रमण गर्दा अविवाहित किशोरीहरुलाई अपहरण गर्ने उर्दी जारी भएको बताइन्छ । त्यसैले सोही उर्दीबाट बालिकाहरुलाई बचाउन बेलसँग सांकेतिक रुपमा बिबाह गरिदिएर सिउँदोमा सिन्दूर राख्ने चलन सुरु भएको स्थानियहरु दाबी गर्दछन् ।