सरकारको नीति तथा कार्यक्रममा काभ्रेपलाञ्चोक

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा काभ्रेपलाञ्चोकका दीर्घकालिन महत्व राख्ने योजना समेटिएका छन ।

नीति तथा कार्यक्रममा सुरक्षण मुद्रण केन्द्र, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, मध्यपहाडी लोकमार्ग, सुनकोशी नदीमा हुने जल यातायात लगायतक विषय समेटिएका हुन । उक्त आयोजना काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल बास्कोटा मन्त्री हुँदा अघि बढाइएको थियो । नीति तथा कार्यक्रममा तीनै आयोजनाले निरन्तरता पाएका हुन ।

अत्याधुनिक, गुणस्तरीय र प्रतिस्पर्धी मुद्रणको व्यवस्था गरि अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र, राहदानीजस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ । सुरक्षण म्द्रण केन्द्र काभ्रेमा निर्माणाधिन छ ।

नीति तथा कार्यक्रममा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय यथाशीघ्र सञ्चालनमा ल्याइने समेत उल्लेख छ । मुलुकको सुरक्षा, प्रतिरक्षा र अन्तराष्ट्रिय सम्बन्धका विषयमा साझा वुझाई र समान धारणाको विकास गर्दै यी विषयहरुमा उच्चस्तरीय अध्ययन, अनुसन्धान र प्राज्ञिक विमर्शलाई प्रवद्र्धन गर्न विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख छ । उक्त विश्वविद्यालय बनेपा नगरपालिका वडा नम्बर १४ साँगामा निर्माणाधिन छ ।

सरकारले मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ । उक्त राजमार्ग काभ्रेसँग समेत जोडिएको छ । समृद्धि करिडोरमा विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने घोषणा सरकारले गरेको हो । जसका माध्यमबाट उत्पादन, उपादकत्व, उत्पादनशीलता रोजगारी सिर्जना गर्ने उल्लेख छ । यस्तै सरकारले जल यातायात सुरू गर्ने घोषणा गरेको छ । सुनकोशी तथा नारायणी नदीमा टर्मिनलसहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे । सनकोशी नदीमा हुने जल यातायातले काभ्रेलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।