बजार अनुगमन र उपभोक्ता हक हित संरक्षण सम्बन्धि धुलिखेलमा छलफल
धुलिखेल / स्वदेशी उत्पादन अभियान,उद्यमीको सम्मान भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय काभ्रेको आयोजना तथा उधोग तथा वाणिज्य कार्यालय काभ्रेको व्यवस्थापनमा धुलिखेलमा उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमन सम्बन्धि सरोकारवालासँगको अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेल, खाद्य अनुसन्धान अधिकृत मनिषा चापागाईं , उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख यज्ञ वली, नाप तौल तथा गुणस्तर कार्यालय र आन्तरिक राजस्व कार्यालयका तर्फबाट बजार अनुगमन, ऐन र कानुनका व्यवस्था तथा जिल्लाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । चालू आर्थिक बर्षमा १५ पटक बजार अनुगमनका क्रममा ४ सय १४ वटा फर्मको अनुगमन गरि २ लाख ६ हजार २ सय २० रुपैयाँ बराबरको सामान नस्ट गरि २ लाख २२ हजार ५ सय जरिवाना गरिएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय र खाध अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयको तर्फबाट अलग अलग कारवाही र अनुगमनका बारेमा भएका गतिविधिका बारेमा जानकारी गराइएको थियो । सरोकारवालाहरुले जिल्लाका विभिन्न बिषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता छ ।
कार्यक्रममा समन्वय समिति प्रमुख गौतम र प्रमुख जिल्लाअधिकारी रुद्रादेबी शर्माले उपभोक्ताको हितमा काम गर्न सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए ।